दुई तिहाईको प्रधानमन्त्री बन्दै ओली, विपक्षमा ६३ मत पक्का

काठमाण्डौं– आइतबार विश्वासको मत लिने तयारी गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा दुईतिहाई मत पुपग्ने निश्चित जस्तै भएको छ।

२७५ सदस्यीय प्रतिनिधि सभामा दुई तिहाईका लागि १८४ सांसदको समर्थन आवश्यक पर्छ। त्यसमध्ये नेपाली कांग्रेससँग ८८ सांसद छन्। नेकपा एमालेका ७९ मध्ये एक जना सभामुख र एक जना निलम्बित छन्। अव एमालेसँग ७७ सांसद छन्। कांग्रेस र एमालेको सांसद संख्या १६५ पुग्छ।

त्यस्तै, सरकारमा सहभागी भएको जनता समाजवादी पार्टीका ७ र लोसपाका ४ सांसद छन्। सरकारलाई विश्वासको मत दिने निर्णय गरिसकेका उपेन्द्र यादव नेतृत्वको जसपा नेपालसँग ५ र जनमत पार्टीसँग ६ सांसद छन्। यो समेत हिसाव गर्दा ओलीको पक्षमा १८४ सांसद पुग्छन्।

राप्रपाले अहिलेसम्म ओली सरकारलाई विश्वासको मत दिने नदिने निर्णय गरिसकेको छैन। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको विपक्षमा मत हालेको राप्रपाले विश्वासको मत दिएमा उसका १४ सांसद छन्। राप्रपाको संख्या जोड्दा १९८ हुन्छ। १४ मत दुई तिहाई भन्दा वढी नै हुने देखिन्छ।

नागरिक उन्मुक्ति पार्टीलगायत साना दल र स्वतन्त्र सांसदको निर्णय पनि आएको छैन। नाउपाको ४, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी र नेमकिपाको १÷१ सिट छ भने २ स्वतन्त्र सांसद छन्।

यता, प्रधानमन्त्री ओलीको विश्वासको मतको विपक्षमा ६३ मत पर्ने भने निश्चित भएको छ। ३२ सिटे नेकपा माओवादी केन्द्र, २१ सिटे रास्वपा र १० सिटे नेकपा एसले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय गरिसका छन्।

सिंहदरबारमा शुक्रबार बसेको माओवादीसहित रास्वपा र नेकपा एकीकृत समाजवादीका नेताहरूको बैठकले ठूला दुई दल कांग्रेस र एमालेको सरकार संविधान जगमा टेकेर नबनेको भन्दै विश्वासको मत नदिने निर्णय गरेको हो।

प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि सरकार संविधानको ७६(३) अनुसार नयाँ सरकार गठन हुनुपर्नेमा संविधानको ७६(२) अनुसार गठन भएकाले यो विषयलाई सदनमा सशक्त रूपमा उठाउने सहमति तीन दलका नेताले गरेका छन्।

यसैगरी, राष्ट्रिय जनमोर्चाले पनि विपक्षमा मत हाल्न सक्छ भने नेमकिपाले कतै पनि मत नहाल्न सक्ने सम्भावना धेरै छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट