वडाध्यक्षको सहभागितामा न्युरोडमा बालेन्द्र साहको पुतला दहन

काठमाण्डौं– न्यूरोडमा फुटपाथ बढाएर मुल सडक घटाउने काठमाण्डौं महानगरपालिकाको निर्णयको विरोध गर्दै मेयर बालेन्द्र साह बालेनको पुत्ला दहन गरिएको छ।

फुटपाथ विस्तारको काम अघि बढेपछि आक्रोशित स्थानीयबासीले साहको पुत्ला जलाएका हुन्। फुटपाथ बढाउने र यथास्थितीमा राख्ने विषय विवादमा आएपछि उच्च अदालत पाटनमा मुद्दा परेको थियो।

उच्च अदालतले महानगरको पक्षमा फैसला गरेपछि डोजरसहितको टोली फुटपाथ विस्तारमा फर्केको थियो। त्यसको विरोधमा स्थानीयले प्रदर्शन गरेका छन्। साथै उनीहरु सडकमै टेन्ट लगाएर बसेका छन्।

स्थानीयको विरोधमा महानगरपालिकाका–२२ नम्बरका वडाध्यक्ष चिनकाजी महर्जन समेत सहभागी थिए। मेयरविरुद्ध नाराबाजी गर्दै न्यूरोडमा प्रदर्शन गर्दा केहीबेर नगर प्रहरीसँग धकेलाधकेलको स्थिति भएको थियो।

महानगरका अनुसार फुटपाथ विस्तार गर्न अघिल्लो आर्थिक वर्षमै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) गरेर आरोग्य साइटेक जेभीलाई ठेक्का लगाइएको थियो। तर सडक विभागले सहमति नदिएकाले लामो समय काम सुरु हुन सकेन।

१२ जेठमा महानगरले फुटपाथ विस्तारका लागि सडक खन्यो । तर केहीबेरमै सडक विभागको टोली आएर अनुमति नलिइ सडक काट्न थालेको भन्दै काम रोकेर रातारात पिच गर्यो। त्यसपछि विभाग विरुद्ध बालेन्द्र आफै अदालत गए। अदालतले उनको पक्षमा आदेश दियो।

अदालतले बाटो खोलेको तेस्रो दिन २ साउनमा महानगरले फेरि फुटपाथ विस्तारको काम थालेको छ। तर मेयरले संवाद नै नगरी बलपूर्वक फुटपाथ विस्तार गर्न खोजेको भन्दै स्थानीयबासी रुष्ट छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट