पोखरामा युवतीको हत्या गरी ८ महिनादेखि गैडाकोटमा भुमिगत भएका सञ्जय यसरी परे पक्राउ

काठमाण्डौं– पोखरामा एक युवतीको हत्या गरी ८ महिनादेखि नवलपुरको गैंडाकोटमा भुमिगत भएका बागलुङको गलकोट स्थायी घर भई श्रीमती र छोरासहित पोखरामा वस्दै आएकाका २९ वर्षीय सञ्जय विकलाई प्रहरीले पक्राउ गरेको छ।

पोखराको घारीपाटनस्थित डेरामा श्रीमती र छोरा छोडेर आफु भने गैडाकोटमा डेरा लिएर लुकेर बसेका सञ्जयलाई बुधबार विहान साढे ५ बजे नवलपुर प्रहरीको समन्वयमा पक्राउ गरी पोखरा लागिएको छ। उनीमाथि तनहुँको भिमाद घर भएकी ३२ वर्षीया सुकु विकको हत्या गरेको आरोप छ।

सुकुलाई प्रहरीले गत ५ मंसिरमा पोखराको एक होटलमा मृत अवस्थामा फेला पारेको थियो। उनको घाँटी थिचेर हत्या गरेको खुलेको छ। सुकुको हत्यापछि उनीसँग भएको आइफोन र गरगहना लुटेर सञ्जय फरार थिए।

सुकुको सोही आईफोनका कारण आरोपितलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुकुको आइफोन खोजतलास गर्ने क्रममा लोकेसन ट्रयाक गर्दा फोन बोक्ने महोत्तरीको बर्दीवास–७ का राजेश बुढाथोकी फेला परेका थिए।

सञ्जयले बुढाथोकीलाई उक्त आइफोन साढे ४० हजारमा बिक्री गरेको खुलेको छ। यसैगरी, सञ्जयको पोखरास्थित डेरामा सुकुलाई होटल लैजाँदा लगाएको द नर्थ फेसको निलो ज्याकेट र पोको कम्पनीको मोबाइल बरामद भएको थियो।

सञ्जयले सुकुको आईफोन वुढाथोकीलाई वेचेको जानकारी, सुकुलाई होटलमा लिएर जाँदा सञ्जयले लगाएको ज्याकेट, डेरामा फेला परेको मोवाईलमा सुकुले आईफोन बोकेको फोटो र उनको मोवाईल नम्बर समेत फेला परेपछि सञ्जय नै सुकुको हत्याका अभियुक्त भएको निचोडमा प्रहरी पुगेको थियो।

डिएसपी शर्माका अनुसार विवाह गर्न बारम्बार दबाब दिएपछि सुकुको हत्या गर्नु परेको सञ्जयले बयान दिएका छन्। प्रहरीले भने त्यो कुरालाई विश्वास गरेको छैन। सञ्जय यसअघि पनि चोरी मुद्दामा पक्राउ परेकाले युवतीको आइफोन र गहनाका लागि हत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ। ‘अभियुक्तविरूद्ध यसअघि पनि पहिला पनि चोरी र अभद्र व्यवहारमा मुद्दा चलिसकेको रेकर्ड छ। यसका आधारमा उनले आइफोन र गरगहनाकै लागि हत्या गरेको हुन सक्ने हाम्रो आशंका छ,’ डिएसपी शर्माले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट