सन्दीप प्रकरणमा उच्चको फैसलाको पूर्णपाठः गौशाला–२६ बालिग, सवै घटनाक्रम सहमतिमै

काठमाण्डौं– उच्च अदालत पाटनले गौशाला–२६ बालिग (१८ वर्ष पुगेको) भएको र क्रिकेटर सन्दीप लामिछानेसँग भएका सम्पूर्ण घटनाक्रम आपसी सहमतिमै जनाएको छ।

लामिछानेविरुद्ध परेको बलात्कार मुद्दामा २ जेठमा न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको पूर्ण इजलासले गरेको फैसलाको पूर्ण पाठ सार्वजनिक गर्दै अदालतले यस्तो जनाएको हो।

पीडित भनिएकी किशोरी आफै सन्दीपको गाडीमा चढ्न गएकी, २ महिनापछि विदेशबाट फर्किँदा भेटौँला भन्दा पनि नमानेकी र राति अबेरसम्म नगरकोट घुम्न गएकीलगायतका तर्क फैसलाको पूर्ण पाठमा गरिएको छ।

यसैगरी, पहिला होस्टल जुनसुकै बेला खुला हुन्छ भने पनि काठमाडौँ आइसकेपछि राति खुला हुँदैन भनेकी तथा होटलमा कुनै झै–झगडा वा मनमुटावको संकेत नदेखाएकी पनि अदालतले उल्लेख गरेको छ। फैसलामा भनिएको छ– ‘पीडित आफैले प्रतिवादीलाई फ्रेन्ड रिक्वेस्ट पठाएको, प्रतिवादी (सन्दीप)लाई स्न्याप च्याटमार्फत फोटोहरू पठाउने गरेको, प्रतिवादीले आफू क्रिकेट खेल्न विदेश गई २ महिनापछि फर्केर आई भेट्छुभन्दा पीडितले मलाई सहयोग गर्नुपर्यो भनेर तुरुन्तै भेट्न चाहेको, प्रतिवादीले गाडी लिएर आउँदा स्वस्फूर्तरूपमा गाडीमा गई बसेको, नगरकोट जाँदा समेत पीडितले कुनै प्रतिकार नगरेको।’

यस्तै, ‘प्रतिवादीले नगरकोटबाट पीडितलाई चाँडै जाउँ तिम्रो होस्टेल बन्द हुन्छ भन्दा होस्टेल जुनसुकै बखत पनि खुल्ला हुन्छ भनी विश्वास दिलाएको, नगरकोटको होटेल प्रतिवादीले बुक गराएको भन्ने तथ्य पुष्टि नभएको र पछि आउँदा मेरो होस्टेल बन्द भइसकेको भनेकोले प्रतिवादीले म तिमीलाई एउटा होटलमा एउटा कोठा लिइदिन्छु, म क्लोज क्याम्प रहेको होटलमा साथीहरूसँग बस्न जानुपर्छ भन्दा नमानी आफूलाई एक्लै नछोड्नू भनी जिकिर गरेको’ पनि फैसलामा उल्लेख छ।

‘दुवै जना स्वस्फूर्तरूपमा नगरकोटको वोजिनी होटलबाट काठमाडौं फर्केको, होटल काठमाडौं इनमा दुवै जना बसेको’ अगाडि भनिएको छ–‘होटल प्रवेश गरेदेखि होटलबाट निस्केको बखतसम्म पीडित र प्रतिवादीबीच कुनै झगडा मनमुटाव नभई पीडितले सहमति बमोजिम नै सम्पूर्ण घटनाक्रम भएको तथ्यलाई अन्यथा मान्नुपर्ने देखिँदैन।’

पीडितले प्रतिकार गरेको, कराएको, चिच्याएको, तेस्रो व्यक्तिसँग आत्मरक्षाको लागि कुनै सहयोगको याचना गरेको भन्ने नदेखिएको र उक्त होटेलमा जान पीडितको सहमति रहेको पुष्टि भएको उच्च अदालतको ठहर छ।

यता, काठमाडौँ जिल्ला अदालतले भने गौशाला–२६ बालिग नै भए पनि उनीहरूबीच भएको भनिएको करणीलाई सहमतिको सम्बन्ध मान्न नसकिने फैसला गरेको थियो। २५ पुसको फैसलामा सन्दीपले आफ्नो ख्यातिको दुरूपयोग गरेको र व्यक्तित्वको प्रभावमा करणी गरेको उल्लेख थिए। यसैगरी, आर्थिक सहयोगको प्रलोभनमा पारेर ती किशोरीलाई करणी गरेको तर्कसहित बलात्कार ठहर्ने फैसला गर्दै लामिछानेलाई ८ वर्षको कैद सजाय सुनाईएको थियो।

यस्तै ३ लाख रुपैयाँ जरिवाना र २ लाख क्षतिपूर्ति तिर्नुपर्ने फैसला पनि जिल्ला अदालतले सुनाएको थियो। त्यसविरूद्ध सन्दीप उच्च अदालतमा पुनरावेदन गर्न पुगेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट