‘अमेरिका लान्छु’ भन्दै लाखौं ठगेको विषय सार्वजनिक भएपछि उपसभामुखको पद संकटमा

काठमाण्डौं– ५ जना व्यक्तिलाई अमेरिका लैजान भन्दै नेपालस्थित अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि उपसभामुख इन्दिरा राना विवादमा परेकी छिन्। एक वर्षअघिको उक्त पत्र अहिले सार्वजनिक भएको हो।

कमिसन अन द स्टाटस अफ वुमन’को ६७ औं सत्रमा भाग लिन जाने क्रममा उनले आफूसँगै ४ पुरुष र एक महिलालाई समेत लैजानेगरी दूतावासमा पत्र पठाएकी रहिछन्। पत्रमा झापाका रास्वपा कार्यकर्ता उपेन्द्र गौतमसहित सुस्मा लामा, राजेश लामा तामाङ, सुजन घर्तीमगर र धनप्रसाद गुरुङको नाम छ। यीमध्ये कोही पनि महिला सशक्तीकरण वा मानवअधिकारको क्षेत्रमा काम गरेका होइनन् । अर्थात् कार्यक्रमसँग विल्कुलै असम्बन्धित व्यक्तिलाई उपसभामुखले अमेरिका लैजान खोजेको पाईएको छ।

पत्रको ब्यवहोर अनुसार कार्यक्रममा जानका लागि समयको दबाब भएकाले उनीहरुको अन्तर्वार्ता अगाडिसारिदिन आग्रह गरिएको छ। १४ फागुन २०७९ मा यूएन वुमनको सीएसडब्लू ६७ मा सहभागी हुने प्रयोजनका लागि भन्दै रानाले आफूसहित ६ जनाको नाम राखेर अमेरिकी दूतावासलाई पत्र पठाएकी थिइन्। तर, दूतावासले भिसा दिएन।

त्यसपछि पीडितहरुले रास्वपा नेताहरुलाई भेटेर रानाले ठगी गरेको गुनासो पनि गरेको खुलेको छ। रास्वपाका नेताहरुले यो विषय ३ महिनाअघि नै जानकारी पाएको खुलेको छ। तर, गुपचुप राखे।

जानकारी अनुसार गत वैशाखमा एक व्यक्तिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संगठन विभाग सचिव शंकर श्रेष्ठलाई भेटेर इन्दिरा रानाबाट आफना मान्छे ठगिएको बताएका थिए। रास्वपाकै कोटाबाट ७ माघ २०७९ मा उपसभामुख निर्वाचित इन्दिरा रानामगरसँग आईएनजीओको कार्यक्रममा अमेरिका जान पैसा बुझाएको तर १ वर्षसम्म पनि भिसा नलागेकाले पैसा फिर्ता गराइदिन उनले आग्रह गरेका थिए।

रानाले अमेरिका लैजानका लागि एक महिलासँग करिव ९ लाख रुपैयाँ लिएको खुलेको छ। प्रमाणका रूपमा उनले उपसभामुखको लेटरप्याडमा अमेरिकी दूतावासलाई गरेको सिफारिसपत्र पनि देखाए। सोही पत्र अहिले मिडियामा सार्वजनिक भएको हो। श्रेष्ठले यसबारे तत्कालै सभापति एवं तत्कालीन गृहमन्त्री रवि लामिछानेसहित तत्कालीन महामन्त्री मुकुल ढकाललाई जानकारी गराए।

तर, नेताहरुले ‘लेनदेन मिलेको’ भन्दै यो विषय गुपचुप राखेका थिए। यो प्रकरण सतहमा आएपछि रास्वपाका नेताहरूले गम्भीरतापूर्वक लिनुको सट्टा सामान्य विषयलाई ठूलो बनाइएको टिप्पणी गरिरहेका छन्।

यता, सभामुख देवराज घिमिरेले भने यो विषयमा गम्भीर चासो दिएका छन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट