शिमलताल पहिरोमा परी हराएका मध्ये २२ वटा शव भेटियो, २ बससहित ४० जना अझै बेपत्ता

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालको पहिरोसँगै बगेर त्रिशुलीमा खसेका बस र यात्रुको खोजी जारी छ। यसैक्रममा शुक्रबार नवलपरासीतर्फ नारायणी नदीमा थप दुई जनाको शव फेला परेको छ ।

योसँगै वेपत्ता यात्रु भेटिनेको संख्या २२ पुगेको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार, भेटिएका २२ जनामध्ये ८ जनाको सनाखत (पहिचान) हुन बाँकी छ। अझै ४० जना यात्रु बेपत्ता छन्।

२७ जना यात्रु लिएर काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको ०३–००१ ख २४९५ नम्बर गणपति डिलक्स र ३८ यात्रुसहित पर्साको वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स पहिरोसँगै त्रिशूलीमा खसेका थिए।

दुर्घटनालगत्तै बसको झ्यालबाट निस्केका गणपति डिलक्सका रौतहट निवासी नन्दन दास, जोगेश्वर राय यादव र सुरज गुप्ताले ज्यान बचाए। उनीहरूबाहेक ६२ जना बससँगै बेपत्ता भएका थिए। हराएर हालसम्म भेटिएका मध्ये अधिकांश शव पुरुषको छ।

बेपत्तामध्ये कतिपयलाई बाढीले त्रिवेणी बाँध नागेर भारतीय क्षेत्रसम्म पुर्याएको आशंकामा बिहार राज्यको पश्चिम चम्पारण र उत्तरप्रदेश राज्यको महाराजगञ्जका जिल्ला अधिकारीहरूसँग पनि समन्वय गरेर खोजी भईरहेको चितवनका सीडीओ इन्द्रदेव यादवले बताए।

२८ असार शुक्रबार विहान भएको यो दुर्घटनापछि करिब ५ सयको संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासहित उद्धारकर्मीहरूको टोली बेपत्ताहरूको खोजीमा परिचान गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।

खोजीका लागि मोटरबोट, र्‍याफ्टिङ बोट, वाटर ड्रोन, सोनाार क्यामरालगायतको प्रयाग गरिएको छ। तर, अहिलेसम्म फेला परेका शवहरू नदीको गहिराइबाट निकालिएको होइन। कुनै शव नदी किनारका रुखमा अड्केको तथा कुनै बालुवामा पुरिएर थोरै कपडा देखिएको अवस्थामा फेला पारिएका थिए। २ वटा बसको अहिलेसम्म अत्तोपत्तो छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट