अशोकराज सिग्देल नेपाली सेनाको प्रधानसेनापति बन्दै, यस्तो छ उनको उमेर विवाद

काठमाण्डौं– नेपाली सेनाका बलाधिकृत रथी अशोकराज सिग्देल प्रधानसेनापति बन्ने लभभग पक्का भएको छ। प्रधानसेनापति प्रभुराम शर्मा २५ साउनदेखि बिदामा बस्ने भएकाले सिग्देलले कामु प्रधानसेनापति हुँदै प्रधानसेनापति बन्ने भएका हुन्।

जन्ममिति विवादमा मुछिएका सिग्देश २५ भदौमा प्रधानसेनापति बनेपनि जिम्मेवारी भने साउनबाटै सम्हाल्ने छन्। नेपाली सेनामा अवकाश हुनु एक महिनापहिले बिदामा बस्ने र बलाधिकृत रथीलाई कमान्ड बरबुजारथ गर्ने चलन छ।

प्रभुराम शर्माले सिग्देललाई नै जिम्मेवारी हस्तान्तरण गर्ने निश्चित छ। शान्ति मिसनमा रहेका बलाध्यक्ष रथी निर्मलकुमार थापा नेपालमा जिम्मेवारी (कमान्ड) हस्तान्तरण हुँदा आईपुग्ने सम्भावना कम छ।

शान्ति मिसनमा सिरियामा फोर्स कमान्डर रहेका थापाको दुई वर्षे कार्यकाल अझै तीन महिना बाँकी छ। नेपाली सेनामा बलाधिकृत रथीलाई नै प्रधानसेनापति बनाउने चलन अनुसार सिग्देलले अव आगामी तीन वर्ष नेपाली सेनाको कमान्ड सम्हाल्ने छन्।

प्रधानसेनापतिको लाइनमा रहेका ताराध्वज पाण्डेले राजीनामा दिएपछि उनी गएको मंसिरमा रथीमा बढुवा भएका थिए। शैक्षिक प्रमाण पत्रको विवादमा परेपछि पाण्डेले राजीनामा दिएका हुन। पाण्डेले राजीनामा दिएपछि सिग्देलको कागजातमा पनि प्रश्न उठेको थियो। सिग्देलका शैक्षिक प्रमाण पत्र र नागरिकतामा फरकफरक जन्ममिति रहेको तथा नागरिकताको प्रतिलिपि लिँदा पनि उमेर सच्याइएको भन्दै संसदसम्म प्रश्न उठेको थियो।

तर सेनाले उनको बचाउ गरेको छ। संसदीय समितिमै पुगेर प्रधानसेनापति प्रभुराम शर्माले सिग्देलका कागजातमा कुनै कैफियत नभेटिएको बताएका थिए। प्रश्न उठिसकेपछि सेनाले सम्बन्धित कार्यालयहरूबाट कागजात प्रमाणीकरण गरेको र कुनै कैफियत फेला नपरेको दाबी गरेको छ।

उनले रूपन्देहीबाट पहिलो पटक २९ साउन ०४० मा नागरिकता लिएका थिए। नागरिकतामा जन्म मिति उल्लेख नगरी, उमेर १७ वर्ष भनेर लेखिएको छ। त्यसको १ महिनापछि लिएको एसएलसीको प्रमाण पत्रमा जन्ममिति १९ माघ ०२३ उल्लेख छ।

सैनिक सेवा नियमावली २०६९ मा नागरिकता र शैक्षिक प्रमाण पत्रमा एक वर्षभन्दा कम उमेर फरक परेमा जुनमा पूरा मिति उल्लेख छ, सोहीले मान्यता पाउने उल्लेख छ। सिग्देलको नागरिकता जारी गरेको मिति र शैक्षिक प्रमाण पत्रमा ६ महिना (उमेर) फरक देखिएको छ।

सिग्देलले ८ जेठ ०५८ मा जाजरकोटबाट नागरिकताको प्रतिलिपि लिएका थिए। उक्त प्रतिलिपिमा उनको नागरिकता जारी मिति २०४० साउन २९ उल्लेख छ। यसअघि विभिन्न निकायमा परेको उजुरीमा भने उनको रूपन्देहीबाट जारी भएको नागरिकता ९ असोज ०४० मा जारी भएको दाबी गरिएको थियो।

सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले भने रथी सिग्देलले नेपाली सेनामा भर्ना हुँदा पेस गरेका प्रमाण पत्र सम्बन्धित कार्यालयबाट पुनः प्रमाणीकरण गराउँदा जन्म मिति फरक नपरेको दाबी गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट