सरकार ढाल्ने हलचल ल्याएका वेचन झाको बयानः म समाजसेवी हुँ, शरणार्थी प्रकरणमा संलग्नता छैन

काठमाण्डौँ– सरकार ढल्नेसम्मको हलचल ल्याएको प्रचार गरिएका बेचन झाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफनो संलग्नता अस्विकार गरेका छन्। प्रहरीका अनुशन्धान अधिकृतहरुसँगको अनौपचारिक कुराकानीमा ‘२ करोडको चेक लिएर च्यातिदिएँ’ भनेका झाले बुधबार औपचारिक बयानमा भने ‘चेक लिँदै नलिएको’ भन्दै बताएका छन्।

वीरगन्ज उपमहानगरपालिका–७ घर भई काठमाडौँ महानगरपालिका–१०, बानेश्वरमा बसेर केही वर्षअघिसम्म ‘विभांशु ब्रदर्श थापागाउँ’ नामको कन्स्ट्रक्सन कम्पनी मार्फत ठेक्कापट्टाको काम गर्दै आएका झा १४ असारमा पक्राउ परेका थिए।

उनी पक्राउ परेको केही दिनमै सरकार ढाल्ने र बनाउने खेल सुरु भएको थियो। सत्ता छोड्नु परेको पीडामा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री रवि लामिछानेले प्रतिनिधि सभाको रोष्ट्रममै उभिएर वेचन झा पक्राउ परेकै कारण रातारात कांग्रेस–एमालेको गठवन्धन बनेको र सरकार ढाल्ने खेल भएको दावी गरेका थिए।

यता, बयानका क्रममा झाले भने नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नताबारे ठाडै ‘इन्कार’ गरे। प्रहरी अनुसन्धानले भने उनले टोखा नगरपालिका–६ स्थित धापासीका रामशरण केसीसँग दुई करोडको चेक लिएको देखाएको छ। चेक लेनदेनका लागि भेट्नुअघि दुई जनाबीच भएको कुराकानीको अडियो पनि आफूसँग रहेको प्रहरीको दावी छ।

यसअघि पक्राउ परका सानु भण्डारी (प्रकरणमा संलग्न) र रामशरण केसी (गिरोहका सदस्य) ले पनि बयानका क्रममा हिमालयन बैंकमा रहेको खाताबाट २ करोडको चेक दिएको वताएका छन्। रामशरणले नयाँ बानेश्वरस्थित ह्वाइट हाउस क्याम्पस नजिक भेटेर झालाई चेक दिएको दाबी गरेका छन्।

बेचनलाई दिएको चेकको फोटो समेत खिचेर आफुले प्रेमराज पन्थी नामका साथीलाई पठाएको रामशरणको दावी छ। प्रहरीको अनुशन्धान र पक्राउ परेकाहरुको वयान अनुसार नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन सहज हुने गरी १३ मंसिर ०७८ को मन्त्रिपरिषदको बैठकबाट निर्णय गराउने भन्दै झाले चेक बुझेका थिए।

तर, बेचनले बयानमा भने ‘चेकमा कसैले मेरो नाम भरिदियो होला’ भन्दै रामशरणसँग भेटेको कुरा नै अस्वीकार गरेका छन्। उनले आफूलाई समाजसेवी भएको जिकिर गर्दै शरणार्थी प्रकरण आफुले समाचारबाट थाहा पाएको बताएका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्वगृहमन्त्री बालकृष्ण खाँण सहितका ब्यक्तिहरु धमाधम पक्राउ पर्न थालेपछि फरार भएका झा भारतमा रहेकी छोेरीसँग लुकेर बसेका थिए। उनलाई भारतबाटै पक्राउ गरेर ल्याईएको स्रोतको दावी छ। प्रहरीले भने नेपालमै पक्राउ गरिएको जनाएको छ।

झाविरुद्ध प्रहरीले सङ्गठित रूपमा ठगेको कसुरमा अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट