‘आईजीपी बर्खास्त र आरजु पक्राउ’ गर्ने रविको योजनामा भागिदार सीआईबी प्रमुख ज्ञवाली गृहमन्त्रीको निसानामा

काठमाण्डौं– निवर्तमान गृहमन्त्री रवि लामिछानेसँग मिलेर आईजीपी (प्रहरी महानिरिक्षक) बसन्त कुँवरलाई हटाउने योजनामा लागेको आरोप खेपेका प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख (एआईजी) श्यामलाल ज्ञवाली गृहमन्त्री रमेश लेखकको निशानामा परेका छन्।

लामिछानेको रोजाइमा सीआईबी प्रमुखको जिम्मा पाएका ज्ञवालीलाई ४ महिनामै हटाउने तयारी सुरु भएको छ। नक्कली भुटानी शरणार्थीको मुद्दा अगाडि बढाउन र अनुसन्धान गर्न आफैँ खटिएका ज्ञवालीलाई सत्ता घटक नेपाली कांग्रेस र नेकपा एमालेले रुचाएका छैनन्। उपत्यका प्रहरी कार्यालय प्रमुख भएर काम गर्दा पनि उनलाई साढे चार महिनामै हटाइएको थियो।

उपत्यका प्रहरी कार्यालयबाट सरुवा गरेर ज्ञवालीलाई प्रहरी प्रधान कार्यालयस्थित कार्य विभागमा लगिएको थियो। नेपाली कांग्रेस सत्तामा छउन्जेल ज्ञवाली कार्य विभागमै रहे। यसैबीच रवि लामिछाने गृहमन्त्री भए। उनी गृहमन्त्री हुँदा सीआईबीले उनी मुछिएका सहकारी ठगीका फाइल झिकाएर अनुसन्धान गरिरहेको थियो।

त्यसपछि लामिछानेले उनीमाथि अनुसन्धान गर्ने एआईजी किरण बज्राचार्य सुन तस्करी प्रकरणमा डामेर चैतमा त्यहाँबाट हटाए। बज्राचार्यलाई हटाएर सीआईबी प्रमुखको जिम्मा ज्ञवालीलाई दिए। लामिछाने यतिमा मात्रै अडिएनन्। वद्लाको भावनाबाट ग्रसित भएर आईजीपी (प्रहरी महानिरिक्षक) वसन्त कुँवरलाई हटाउन कम्मर कसेरै लागे। कुँवरलाई हटाएर ज्ञवालीलाई आईजीपी बनाउने योजना उनको थियो।

खासगरी कास्की र रुपन्देही प्रहरीमा सहकारी ठगी सम्बन्धमा परेको पूरक जाहेरीले लामिछानेको मनमा बद्लाको भावना जन्माएको थियो। सहकारी ठगी सम्बन्धी आफु विरुद्धको उजुरी रोक्न नसकेको भन्दै आईजीपीको भुमिकालाई लिएर लामिछाने रुष्ट थिए।

गृहमन्त्री र आईजीपीको सम्बन्ध चिसिएको देखेपछि उनीहरुको बीचमा खेल्ने प्रयास गरेको ज्ञवालीमाथि आरोप छ। स्रोतका अनुसार आगामी २६ भदौमा उमेर हदका कारण अनिवार्य अवकाशमा जानु पर्ने बाध्यतामा रहेका ज्ञवाली कुँवरलाई लडाउन पाए आफनो पनि पालो आउनले लोभमा थिए। त्यसैले ज्ञवाली लामिछानेको बफादार भएर खटिए। लामिछानेले पनि आईजीपी कुँवर भन्दा ज्ञवालीलाई नै साथमा राखेर काम गरेका थिए।

कुँवरलाई हटाउने योजना बोकेर लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष पुगे। प्रधानमन्त्रीको जवाफ त उनले पाएनन् तर एमाले अध्यक्ष केपी शर्मा ओलीले लामिछानेलाई ढिम्किनै नदिएपछि लामिछाने र ज्ञवालीको उदेश्य पुरा हुन पाएन।

पछिल्लो पटक कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्ने प्रकरणमा पनि लामिछाने र ज्ञवालीको मिलेमतो रहेको कांग्रेसका नेताहरुले आरोप लगाउँने गरेका छन्। सिरोहियालाई पक्राउ गरेर हिरासतमा राखेपनि अहिलेसम्म उनीविरुद्ध लगाईएको आरोपसहितको मुद्दा प्रहरीले अदालतमा पुर्याउन नसकेको उनिहरुको भनाई छ।

यता, टीकापुर जग्गा घोटाला प्रकरणमा सांसद तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नि (हाल परराष्ट्र मन्त्री) आरजु राणालाई पक्राउ गर्न १५ असारमा सिआईबीको टोली बुढानिलकण्ठ स्थित उनको निवासमै पुगेको खुलेको थियो। तर, प्रहरीले विज्ञप्ति नै जारी गरेर यसको खण्डन गरिसकेको छ।

स्रोतका अनुसार रविले आफु निकटका ब्यक्तिसँग आरजूलाई ‘पक्राउ गरेर १ घन्टा भए पनि थुन्ने’ बताउँदै आएका थिए। त्यसैले उनले आरजुलाई पक्राउ गर्न सीआबीलाई ठाडो निर्देशन दिएका थिए। निर्देशन अनुसार सीआईबीको टोली देउवा निवास पुग्यो। आईजीपी कुँवर त्यस वेला विदेश भ्रमणमा थिए। स्रोतका अनुसार लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहालसमेतलाई यस बारे जानकारी दिएका थिएनन्। तर, लामिछानेले ज्ञवाली मार्फत सीआईबीको टोली परिचालन गरेको खुलेको थियो।

सीआईबीले देउवा निवास आसपासको सडक सिल गरेर घेराबन्दी गरेको थियो। यो विषय देउवाका स्वकीय सचिव भानु देउवासम्म पुगेपछि आरजू पक्राउ पर्नबाट जोगिएको जनाईएको छ।

यी सवै प्रकरणका कारण ज्ञवालीलाई अव प्रहरी प्रधान कार्यालयकै कुनै विभागमा लैजाने सम्भावना छ। गृहमन्त्री रमेश लेखकले कांग्रेस निकट रहेका हाल राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानका प्रमुख एआईजी सुदीप गिरीलाई सीआईबी प्रमुखको जिम्मा दिने बढी सम्भावना छ।

यसैगरी, एमाले अध्यक्षसमेत रहेका केपी शर्मा ओली (हाल प्रधानमन्त्री) को पहलमा २७ वैशाखमा एआईजीमा बढुवा भएका भीम ढकाल पनि सीआईबी जान लबिइङमा छन्। हाल उनी मानव स्रोत विकास विभागमा छन्। ढकाल पनि आगामी २८ मंसिरमा उमेरहदका कारण अनिवार्य अवकाश हुनेछन्।

यसको सम्पुर्ण प्रकृयाका लागि गृहमन्त्री लेखकले छलफल थालिसकेको स्रोत बताउँछ।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट