जुवाको खालमा सापटी दिएको पैसा मागेपछि चिर्पटले हानेर साथीको हत्या

काठमाण्डौं– सिन्धुलीको घ्याङलेख गाउँपालिकाको मिलन चौकमा जुवाको खालमा लेनदेनको विवाद हुँदा आफनै साथीले चिर्पटले हानेर १ युवकको हत्या गरेका छन्।

सापटी दिएको पैसा माग्दा घ्याङलेख गाउँपालिका–२, चालिसेवगरका ३० वर्षिय टिकाबहादुर बुढाथोकीको हत्या भएको हो। पैसा मागेपछि विवाद गरेर साथीले नै चिर्पटले हानेर उनको हत्या गरेको प्रहरीले जनाएको छ।

बुढाथोकीलाई घ्याङलेख गाउँपालिका २ का ३० वर्षिय आशमान वाईवा र ३८ वर्षिय भुण्टे भनिने ज्ञान बहादुर वाईवालगायतले कुटपिट गरेको प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेका अनुसार पेट, खुट्टा, दायाँ गालाको कञ्चटमा चोट लागेर घाईते भएका बुढाथोकीको नाकबाट रगत बगेको थियो।

उनलाई प्रहरीले उद्धार गरेर वस्तीपुर स्वास्थ्य चौकीमा भर्ना गरेको थियो। त्यहाँ उपचार हुन नसकेपछि सिन्धुली अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको एसपी काफ्लेले बताए।

घटनामा संलग्न आशमान वाईवालाई घटना स्थलबाट भाग्ने क्रममा र ज्ञानबहादुर वाईवालाई घ्याङलेख गाउँपालिका २ को पञ्चसिंह वाईवाको घरबाट प्रहरीले पक्राउ गरेको छ। घटनामा संलग्न रहेको आशंकामा अन्य केहि व्यक्तिलाई पक्राउ गरि अनुसन्धानको दायरामा ल्याईएको सिन्धुली प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट