ओली क्याबिनेटमा सप्तरीका २ मन्त्रीः कमिशनले गन्हाएका साह र सरकारी शिक्षक छोडेर बोर्डिङ खोलेका चौधरी

राजविराज– नेपाली कांग्रेससँग मिलिजुली सरकार बनाएका केपी ओलीको क्याविनेटमा यस पटक सप्तरीले दुई जना मन्त्री पाएको छ।

उपेन्द्र यादवको पार्टी विभाजन गरेर जसपा नेपाल बनाउने काममा सक्रिय रहेका नवलकिशोर साह सुडी र नेपाली कांग्रेसका नेता तेजुलाल चौधरी ओलीको क्याविनेटमा मन्त्री बनेका छन्। सुडीलाई महिला बालबालिका र चौधरीलाई युवा तथा खेलकुद मन्त्री मन्त्रालयको जिम्मेवारी दिईएको छ।

२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा सप्तरी–१ बाट चुनाव लडेका सुडीले जनमत पार्टीका अध्यक्ष डा. सीके राउतका दाइ जयकान्त राउतलाई पराजित गरेका थिए। यसअघि प्रचण्ड सरकारमा वन तथा वातावरण मन्त्री रहेका सुडी मधेश प्रदेश सरकारमा सामाजिक विकास मन्त्री रहेका थिए।

प्रदेश सरकारमा उनको कार्यकाल विवादै विवादमा बितेको थियो। साह मधेश प्रदेशका ‘फेलियर र भ्रष्टाचार आरोपी’ पूर्वमन्त्री हुन। कोरोना कालमा मधेशको मन्त्री रहेका साहमाथि स्वास्थ्य सामग्री खरिद, क्वारेन्टाइन निर्माण, कर्मचारी नियुक्ति र योजना बाँडफाँटमा ठूलो रकम अनियमितता गरेको आरोप छ।

०७४ सालमा तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) बाट सप्तरी क्षेत्र नं १ (ख) मा उम्मेदवारी दिएका साह नेपाली कांग्रेसका उम्मेदवार बद्रीनारायण महत्मान यादवलाई हराउँदै प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। उनलाई पार्टीले सामाजिक विकास मन्त्री बनाएको थियो। स्थास्थ्य क्षेत्रमा विकासको छलाङ ल्याउने गफ दिएर मन्त्रि बनेका साहलाई केही दिनपछि नै कमिसनमुखी भएको आरोप लाग्न थाल्यो।

मन्दिर निर्माणमा पनि कमिसनको खेल सुरु गरेपछि १८ असार ०७६ उनी गृहनगरमै सर्वसाधारणबाट लखेटिएका थिए। प्रदेश सरकारको १० लाख रुपैयाँको लगानीमा हनुमाननगर कंकालिनी नगरपालिका–३ पोर्ताहामा सुरु भएको मन्दिरको छत ढलान र जिर्णोद्वाराको काममा कमसल सामग्री प्रयोग भएको गुनासोपछि मन्त्री साह र हनुमाननगर कंकालिनी नगरपालिकाका तत्कालिन मेयर शैलेश (मन्त्रीका छोरा) अनुगमनका लागि पुगेका थिए।

मन्दिरका पूजारी राममनोहर दासले काम गुणस्तरहीन भएको र बालुवा पनि कमसल प्रयोग गरेकाले काम रोक्न माग गरे। आफ्नै मान्छे उपभोक्ता समितिमा राखेर काम गराइरहेका मन्त्री साहले काम रोक्ने कुरा सुन्नासाथ पूजारीलाई अपशब्द प्रयोग गर्दै गाली गर्न थाले। यतिमात्रै होईन, पुजारीलाई हान्न इँटा उचालेपछि स्थानीयवासीले उनलाई लखेटेका थिए।

पार्टीकै नेताबाट असन्तुष्टि र सर्वसाधारणबाट पनि लखेटिन थालेपछि नेतृत्वले उनलाई मन्त्रीबाट फिर्ता बोलाउने तयारी गरिरहेकै बेला तत्कालीन समाजवादी पार्टी र राजपाबीच एकता भयो। तर, एकता धेरै दिन टिक्न सकेन। तत्कालीन राजपाका नेताले जसपा छाडेर लोसपा गठन गरे। मन्त्रि पदको लोभमा साहले सरकारको नेतृत्व गरेको जसपामै वस्ने निधो गरे। पुरानो पार्टीमा फर्केपछि मन्त्री पद गुम्ने डरले जसपा रोजेका साहलाई पार्टीमा टिकाईराख्न मन्त्रिमा पनि टिकाई राख्नुपर्ने बाध्यता उपेन्द्रलाई पर्यो। त्यसैले उनले सामाजिक विकास मन्त्रालयमा निरन्तरता पाए।

जसपामासाहको प्रभाव बलियो थियो। ०७९ सालको प्रतिनिधी सभामा निर्वाचनमा एमालेसँग तालमेल गरेको जसपाको भागमा उम्मेदवारी दिने भागवण्डा हुँदा सप्तरी क्षेत्र नम्बर १ पनि पर्यो। त्यहाँ उम्मेदवार बनेका साहले प्रदेशबाट संघमा छलाङ मारे।

गठवन्धन बनाउने र भत्काउने खेलमा जसपा सत्तापक्ष हुँदा साह प्रचण्ड सरकारमा वन तथा वातावरणमन्त्रालयको जिम्मेवारी पुगे। अशोक राईले उपेन्द्रको पार्टी फुटाएपछि राईतर्फ नै लागेका साह फेरी मन्त्री भएका छन्।

यसैगरी, पछिल्ला तीन निर्वाचनमा सप्तरीबाट लगातार चुनाव जित्दै आएका तेजुलाल चौधरी यसपटक युवा तथा खेलकुद मन्त्री बन्न सफल भएका छन्। यसअघि ०७४ सालमा उनी युवा तथा खेलकुद मन्त्रालयमा खेलकुद राज्य मन्त्री बनेका थिए

चौधरीमाथि राष्ट्रपति रामचन्द्र पौडेलको समेत सदासयता रहेको कांग्रेसभित्र चर्चा छ। ०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा चौधरीले सप्तरी–४ मा जसपाका बालकिशोर यादवलाई पराजित गरेका थिए। उनी भलिबल र एथलेटिक्समा वीरेन्द्रशिल्डका विजेता हुन् । उनी ०३५ सालमै भलिबलका राष्ट्रिय खेलाडी बनेका थिए। ०६२ सालमा उनी जिल्ला एथलेटिक्स संघ ललितपुरको सदस्य भएका थिए।

चौधरी ललितपुरमा रहेको नाइटिङ्गेल स्कुलका सञ्चालक हुन्। सरकारी शिक्षकको जागिर छाडेर चौधरीले निजी स्कुल सञ्चालन गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट