बिँडी माग्दा नदिएको रिसमा चिर्पटले हानेर ६५ वर्षीय वृद्धको हत्या गर्ने युवकलाई १० वर्ष कैद

राजविराज– बिँडी नदिएको निहुँमा चिर्पटले हानेर ६५ वर्षीय वृद्धको हत्या गरेको आरोप लागेका कञ्चनरूप नगरपालिका–१०, बदगामा टोलका २८ वर्षीय मनोज पासवानलाई १० वर्षको कैद सजाय भएको छ।

३१ असार ०८१ मा सप्तरी जिल्ला अदालतका न्यायाधीश मणिराम न्यौपानेको इजलासले मनोजको कसुर प्रमाणित गर्दै १० वर्ष कैद गर्ने फैसला सुनाएको हो। आरोपितले कञ्चनरुप नगरपालिका–८ बेरियर चौकमा रहेको बस बिसौनीको प्रतिक्षालयमा ३१ असार ०८० मा मागेर जिविका चलाउने वृद्ध (पहिचान नखुलेको) को हत्या गरेका थिए।

ईलाका प्रहरी कार्यालय कञ्चनरुपले अनुसन्धान गर्ने क्रममा ३ साउन ०८० मा मनोज पक्राउ परेका थिए। प्रहरीका अनुसार मागी खाने वृद्ध प्रतिक्षालयमा सुतेर बिँडी खाइरहेका थिए। आफुलाई पनि तलतल लागेर एउटा बिडी माग्दा नदिएर उल्टै तथानाम गाली गर्न थालेपछि आवेगमा आएर छेउमा रहेको लाठीले ४/५ पटक टाउकोमा हानेर भागेको उनले बयान दिएका थिए।

इप्रका कञ्चनरूपका बरिष्ठ हवल्दार धनिलाल साहले घट्नाको अनुशन्धान गरी ४ साउन ०८० मा इलाका प्रहरी कार्यालय कञ्चनरूपमा प्रतिवेदन बुझाएका थिए। अदालतमा वयानका दिने क्रममा भने आरोपितले हत्या गर्ने मनसाय नभएको र तत्काल उठेको रिसमा लाठी प्रहार गर्दा मृत्यु भएको बताएका थिए।

मनोजले हत्या स्विकारेको र कसुर गर्दाको परिस्थितीलाई मध्यनजर गरी अदालतले जन्मकैद सजायलाई १० वर्षमा घटाएको जनाईएको छ। जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद सुवेदीको इजलासले मनोजलाई २१ साउनमा पुर्पक्षका लागि थुनामा पठाएको छ।

उनी अहिले राजविराज कारागारमा थुनामा रहेको इन्सेक सप्तरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट