१३ वर्षीया बालिकालाई बलात्कार गर्ने युवकलाई ५ वर्षपछि १८ वर्षको कैद सजाय

राजविराज– १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका एक युवकलाई सप्तरी जिल्ला अदालतले १८ वर्ष कैद सजाय गरेको छ।

तिरहुत गाउँपालिका–२ मैनाकडेरीका २८ वर्षीय मो. खुर्सिद (कुर्सिद मियाँ) लाई अदालतले १८ वर्ष कैदका साथै ५० हजार रुपियाँ पीडित पक्षलाई क्षतिपूर्ति तिर्नुपर्ने र २ हजार २ सय रुपियाँ फौजदारी कसुर पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला गरेको हो।

जिल्ला न्यायाधीश मणिराम न्यौपानेको ३० असार ०८१ को इजलासले आरोपितलाई कसुरदार ठहर गर्दै यस्तो सजाय सुनाएको अदालतलाई उध्रृत गर्दै इन्सेक सप्तरीले जनाएको छ।

८ असार ०७६ मा परिवारका सदस्य खेत गएका बेला आरोपितले मुख थुनेर बलात्कार गरेको पीडितले बताएकी छिन्। पीडितकी आमाले कुर्सिदसहित तिरहुत गाउँपालिका–२ मैनाकडेरीका २५ वर्षीय गुलाब मन्सुरीविरुद्ध प्रहरीमा ८ असारमै उजुरी दिएकी थिईन।

इलाका प्रहरी कार्यालय कञ्चनरुपले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परिक्षण गराई १० असार ०७६ मा पीडितको उजुरी दर्ता गरेको थियो। जिल्ला अदालतले ११ जेठ ०७७ मा आरोपितहरू विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। मन्सुरी ३० असोज ०७७ मा पक्राउ परे भने कुर्सिद फरार थिए।

जिल्ला न्यायाधीश नारायण प्रसाद दाहालको १८ कात्तिक ०७७ को इजलासले मन्सुरीलाई पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाएको थियो। जिल्ला न्यायाधीश ईश्वरमणि ओझाको २१ पुस ०७८ को इजलासले मन्सुरीलाई सफाई दिदै कुर्सिदको हकमा मुद्दा मुल्तबी राखेको थियो।

४ जेठ ०८० मा कुर्सिद आफै जिल्ला अदालतमा हाजिर भए। न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको छ। हाल उनी राजविराज कारागारमा छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट