केन्यामा श्रीमतीसहित ४२ जना महिलाको हत्या गर्ने ३३ वर्षीय सिरियल किलर पक्राउ

काठमाण्डौं– केन्यामा आफनै श्रीमतीसहित ४२ महिलाको हत्या गरेका एक सिरियल किलर पक्राउ परेका छन्। विहिगा काउन्टीका ३३ वर्षीय कोलिन्स जोमाइसी खालिसियालाई प्रहरीले पक्राउ गरेको हो।

सोमबार बिहान युरो कप फाइनल हेर्दै गरेको बेला बारबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। केन्याली प्रहरीका अनुसार शुक्रबार फोहोरको थुप्रोमा फेला परेका ९ महिलाको बीभत्स हत्यामा उनको संलग्नताको आशङ्का गरिएको छ।

राजधानी नैरोबीमा शुक्रबार टुक्रा–टुक्रा भएको शव फेला परेपछि केन्यामा शोक र आक्रोश छाएको छ। पक्राउ परेपछि उनले प्रहरी अधिकारीहरूलाई अपराध स्थलबाट करिब १ सय मिटर टाढा घरमा लगेका थिए। उनको घरमा १० वटा फोन, एउटा ल्यापटप, चक्कु, परिचयपत्र र महिलाका लुगाहरूसहित महत्वपूर्ण प्रमाण फेला परेको प्रहरीले जनाएको छ।

टुक्राटुक्रा परेर शवको विसर्जन गर्न प्रयोग गरिएका ९ वटा बोराहरू पनि फेला परेको बताइएको छ। शुक्रबारदेखि प्रहरीले विभिन्न चरणमा कुहिएको अवस्थामा शव फेला परेपछि डम्पिङ साइटलाई घेराबन्दी गरेको छ।

मृतकहरु १८ देखि ३० वर्षको बिचमा छन्। हत्याको कारण पत्ता लगाउन शङ्कास्पद व्यक्तिसँग सोधपुछ भइरहेको र मंगलबार अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ। आपराध अनुसन्धान निर्देशनालय (डीसीआई) का प्रमुख मोहम्मद अमीनका अनुसार उनले सन् २०२२ यता आफ्नै श्रीमतीसहित ४२ महिलाको हत्या गरेको स्वीकार गरेका छन्।

‘उनले ४२ जना महिलालाई प्रलोभनमा पारेको, हत्या गरेको र शवलाई डम्पिङ साइटमा फालेको स्वीकार गरेका छन्’ अमीनले भनेका छन्–‘सबै जना सन् २०२२ देखि हालै (बिहीबार) सम्म मारिएका थिए।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट