फस्टायो शरतसिंह भण्डारीको मन्त्रि बन्ने धन्दाः पञ्चायतदेखि हालसम्म तेह्रौ पटक मन्त्री

काठमाण्डौ— प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गर्दा ९ जना नयाँ मन्त्री बनेका छन्। तर, सोही मन्त्री परिषदमा १३औं पटक मन्त्री बन्ने शरतसिंह भण्डारी समेत अटाएका छन्।

लोसपाका ६९ वर्षीय सांसद भण्डारी श्रममन्त्रीमा नियुक्त भएका छन्। भण्डारी पञ्चायतदेखि गणतन्त्रसम्म आइपुग्दा १३औं पटक मन्त्री बनेका हुन्। दल वदलु नेताका रुपमा नाम कमाएका भण्डारी ०३८ र ०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएका थिए। त्यसयता उनी कुनै पनि निर्वाचनमा एउटै दलबाट उठेका छैनन्।

हरेक पटक पार्टी फेरेर चुनाव लड्ने, जित्ने र मन्त्री बन्ने धन्दामा ब्यस्त छन्। उनी पहिलो पटक ०४४ सालमा पञ्चायती व्यवस्थाका अन्तिम प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको मन्त्री मण्डलमा मन्त्री बनेका थिए। त्यसको एकवर्षपछि ०४५ कात्तिकमा वाणिज्य राज्यमन्त्री भए।

पञ्चायत ढलेपछि ०५१ कात्तिकमा सम्पन्न मध्यावधि निर्वाचनमा भण्डारी महोत्तरीबाट स्वतन्त्र रुपमा प्रतिनिधिसभामा निर्वाचित भए। मनमोहन अधिकारीको अल्पमतको सरकार ढलेपछि ०५२ भदौमा प्रधानमन्त्री बनेका कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाको मन्त्रिपरिषद्मा ०५२ मंसिरमा भण्डारी बिना विभागीय राज्यमन्त्री हुँदै बिनाविभागीय मन्त्री भए।

सूर्यबहादुर थापा प्रधानमन्त्री हुँदा ०५४ असोजमा उनी युवा, खेलकूद तथा संस्कृति मन्त्री बने भने ०५६ सालको आम निर्वाचनमा फेरि महोत्तरीबाटै जिते। त्यसबेलासम्म कांग्रेस बनिसकेका भण्डारी कृष्णप्रसाद भट्टराईको नेतृत्वमा गठित मन्त्रिपरिषद्मा ०५६ जेठमा पुनः युवा, खेलकूद तथा संस्कृति मन्त्रीमा नियुक्त भए। भट्टराईले मन्त्रिपरिषद् पुनर्गठन गर्दा ०५६ फागुनमा उनी स्वास्थ मन्त्री बने।

शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि ०५८ साउनमा फेरि उनी स्वास्थ मन्त्री बने। त्यसपछि एकै पटक ०६६ जेठमा गठित माधबकुमार नेपालको मन्त्रिपरिषद्मा उनी पर्यटन तथा नागरिक उड्डयन मन्त्री भए। त्यसवेला उनी कांग्रेस छोडेर मधेसी जनअधिकार फोरममा थिए।

०६८ भदौमा बाबुराम भट्टराईको नेतृत्वमा गठित मन्त्रिपरिषद्मा त भण्डारी रक्षामन्त्री नै बने। त्यसबेलासम्म उनी उपेन्द्र यादवको मधेसी जनअधिकार फोरमबाट विजयकुमार गच्छदारको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकमा थिए।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २१ जेठ ०७८ मा मन्त्रिपरिषद् पुनर्गठन गर्दा भण्डारी जसपाबाट ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बने। ०७९ साल चैतमा पुष्पकमल दाहाल नेतृत्वको सरकारमा श्रम तथा सामाजिक सुरक्षा मन्त्री बनेका भण्डारी सोमबार पुनः ओली नेतृत्वको सरकारमा मन्त्री बनेका छन्।

लोसपामा अध्यक्ष महन्थ ठाकुर, भण्डारी, सर्वेन्द्रनाथ शुक्ला र रामप्रकाश चौधरी संघीय सांसद छन्। अध्यक्ष ठाकुरले भण्डारीलाई नै श्रममन्त्री बनाएर पठाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट