कांग्रेसमा ५५–४५ को भागवण्डा, शेखर समुहलाई ४ मन्त्रालय दिएपछि टुंगो लाग्यो मन्त्रीको सूचि

काठमाण्डौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाएका छन्।

सहमति अनुसार कांग्रेसको भागमा गृहसहित ९ वटा मन्त्रालय परेको छ। जनाको देउवाले ४ वटा मन्त्रालय शेखर कोइराला र गगन थापा नेतृत्वको समूहलाई दिएका छन्। यो हिसाबले संस्थापन र इतर समूहबीच ५५ र ४५ प्रतिशतको भागबण्डा भएको देखिन्छ।

कांग्रेसको भागमा गृह, रक्षा, ऊर्जा, स्वास्थ्य, सहरी विकास, पर्यटन, कानुन, परराष्ट्र र वन मन्त्रालय परेका छन्। ती मध्ये काठमाडौं १ बाट निर्वाचित सांसद प्रकाशमान सिंह उपप्रधानमन्त्रीसहित कांग्रेसको नेतृत्व गरेर सरकारमा सहभागि हुने भएका छन्। उनलाई ऊर्जा वा रक्षा मन्त्रालयको जिम्मेवारी दिईने छ।

गृह मन्त्रालयमा रमेश लेखक, परराष्ट्रमा आरजु देउवा, वन वा कानुन मन्त्रालयमा अजय चौरसिया र सहरी विकासमा किशोरसिंह राठौरको नाम तय भएको छ। यी सबै संस्थापन समूहका हुन्।

शेखर समूहको मन्त्री बन्ने चार जनामा स्वास्थ्यमा प्रदीप पौडेल, पर्यटनमा रामनाथ अधिकारी, कानुन वा कुनै एकमा हृदयराम थानी र ऊर्जा वा अर्को कुनै मन्त्रालयमा तेजुलाल चौधरीको नाम तय भएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री नियुक्त भइसकेका छन्। उनले सोमबार शपथ लिँदैछन्। उनीसँगै कांग्रेस र एमालेबाट मन्त्रीको पनि टुंगो लगाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट