रवि लामिछानेका गफ मात्रैः पहिलो कार्यकालको पहिलो निर्णय दोस्रो पटक मन्त्री खुस्किँदा पनि अलपत्र

काठमाण्डौं– कामचलाउ सरकारका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले जाँदाजाँदै जीबी राई प्रकरणको गम्भिर अनुशन्धान गर्न प्रहरीलाई निर्देशन दिएका छन्। सरकार परिवर्तनको प्रक्रिया सुरु भएसँगै कयौँ विषयहरू छाकछोप गर्न प्रयास हुने भन्दै जीबी राई, टिकापुर प्रकरण र वेचन झाको अनुसन्धानमा हात नकमाउन निर्देशन दिए।

आइतबार गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री लामिछानेले आफूले थालेका अनुसन्धानका घटना रोकिन नहुने बताउँदै कलम झुक्न नहुने पनि बताए। कलम झुक्दैन र रोकिँदैन भनेको आफूले सुनेको भन्दै लामिछानले कलम रोकिएको गुनासो पनि गरे।

‘बेचन झा पक्राउ परेसँगै उनको अडियो सार्वजनिक भएको छ’ उनले भने–‘मन्त्रिपरिषद्ले नै निर्णय गराएको रहेछ भन्ने उनको अडियो र कयौँ कुराकानीबाट पुष्टि हुने ठाउँहरू प्रशस्त छन।’ उनले भोलि त्यो पुष्टि हुँदा र अनुसन्धान हुँदै जाँदा राजनीतिक शक्ति केन्द्रमा पुग्न सक्ने भएकाले त्यसवेला राजनीतिक परिवर्तनसँग प्रहरी प्रशासनको कुनै लेनादेना छैन भन्ने प्रमाणित गर्न पनि निर्देशन दिए।

टीकापुर घटनाको अनुसन्धानमा कहीँ कतै कमी आउनु नहुने र आफू पनि ती घटना नियालिरहेको हुने बताए। जीवी राईको विषयमा इन्टरपोलसँग निरन्तर संवाद आफूसँग भएको र त्यसबारे अन्तिम निष्कर्ष आफ्नो कार्यकालमा हुन नसके पनि निष्कर्षमा पुर्याउन नसकिने विषय नरहेको बताए।

निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान पनि अत्यन्त नजिक पुगेको लामिछानेले दावी गरे। उनले निर्मला प्रकरणको अनुसन्धानमा खटिने प्रहरी कर्मचारीलाई ‘धन्यवाद’ भन्न समेत भ्याए। उनले १० असारमा राष्ट्रिय सभा बैठकमा पनि उक्त घट्नाको नजिक पुगेको बताएका थिए।

राष्ट्रिय सभा सदस्य गोमा तिमल्सिनाले सोधेको प्रश्नको जवाफ दिने क्रममा उनले आफूले दुई दिनमा हत्यारा पत्ता लगाउने कुरा नगरेको तर प्राथमिकतामा राखेर अनुसन्धान गर्ने उल्लेख गरेको बताएका थिए।

‘म गएको अघिल्लो कार्यकालको पहिलो दिनको निर्णय हो त्यो। यसको पत्ता लगाउने हो। दिन गनेर दुई दिनमा पत्ता लगाउँछु भनेको कुरा सुन्दा कतै गलत ढंगले आए जस्तो छ। दिन गनेर आएको होइन, प्राथमिकतामा राखिएको हो। त्यो प्राथमिकतामा नै छ’ उनले भनेका थिए–‘अनुसन्धानको यो विषयलाई मैले आफ्नो प्राथमिकता अघिल्लो कार्यकालको विषयलाई भुलेको छैन। नतिजा उन्मुख छाँै। यति जानकारी यहाँहरुलाई गराउन चाहन्छु।’

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभामा विश्वासको मत गुमाएसँगै सरकार पनि ढलेको छ। सरकार ढलेसँगै लामिछाने स्वतः पदमुक्त भएका छन्। टेलिभिजन कार्यक्रम र प्रतिपक्षमा हुँदा अरुलाई नैतिकक्ता पढाउने र चर्का कुरा गर्ने लामिछानेले अघिल्लो कार्यकालमा गरेको पहिलो निर्णय दोस्रो कार्याकालमा पनि पुरा गर्न सकेनन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट