स्वर्णिमले नेपाललाई भारतमा मिलाउन प्रश्ताव गरेको खुलासा गरेपछि मुकुललाई धम्की

काठमाण्डौं– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेको सचिवालयबाट निस्काशित महासचिव डा. मुकुल ढकाललाई धम्की दिएको खुलेको छ। यो कुरा ढकाल स्वयमले जनाएका हुन।

‘‘स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई पटक–पटक फोन गरे, फोन उठाइन। मसँगै बस्ने भाइलाई फोन गरेर ‘मुकुललाई कुट्छु, त्यसलाई छोड्दिन’ लगायत अनेक भनेकाले हिजै राति इलाकाको डीएसपीलाई फोन गरेर सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेको छु ।’’– ढकालले सामाजिक सञ्जालमा लेखेका छन्।

रास्वपाबाट कारबाहीमा परेपछि ढकालले सभापति रवि लामिछाने र उपसभापति वाग्ले विरुद्ध आगो ओकलिरहेका छन्। उनले नेतृत्वको चर्को आलोचना गर्दै आएका छन्। उनले एउटा टेलिभिजनलाई अन्तरवार्ता दिदै स्वर्णिमले भारतीय राजदूत नवीन श्रीवास्तवसँग नेपाललाई भारतीय राज्य बनाउन आग्रह गरेको दाबी गरेका छन्।

उनले शनिबार राति हिमालय टेलिभिजनमा प्रसारित कार्यक्रम ‘अँध्यारोबाट उज्यालोतिर’मा टिकाराम यात्रीसँगको कुराकानीका क्रममा ढकालले सभापति रवि लामिछाने दोस्रोपटक गृहमन्त्री भएपछि काठमाडौँको एक होटलमा भारतीय दूतावासको टोलीसँग भेटेर फर्किने क्रममा वाग्लेले भारतसमक्ष यस्तो सम्झौता गर्नेगरी कुराकानी भएको खुलासा गरेका छन्।

‘उहाँ (रवि लामिछाने) गृहमन्त्री भइसकेपछि एउटा होटलमा हामीले भारतीय राजदूतावासलाई भेट्यौँ, राजदूतलाई भेट्यौँ। म, रविजी, शिशिर खनाल र स्वर्णिम वाग्ले हुनुहुन्थ्यो र त्यतापट्टीबाट आफ्नो एउटा टिम थियो। र, त्यो टिमसँग भेटेपछि उहाँ (रवि लामिछाने) जानु भयो। उहाँ गएपछि त्यो लिफ्टबाट तल ओर्लिसकेपछि त्यतिबेला स्वर्णिम वाग्लेले मलाई के भन्नु भयो भन्दा खेरि चाहिँ भारतलाई नेपाल, नेपाल देशलाई भारतको राज्य बनाइदिनको लागि या भुटान स्टेट बनाइदिनको लागि एग्रिमेन्ट गर्दिने, र त्यो गरेपछि यिनीहरुले मान्छन् भनेर भनेपछि मलाई त्यति बेला झनक्क रिस उठ्यो।’– यात्रीसँग ढकालले भनेका छन्।

यो विषयमा आफु लाईभ डिटक्सन गर्न तयार रहेको पनि उनले बताएका छन्। ‘लाइभ डिटेक्सन दिन तयार छु, उहाँले यो भनेको हो र यो कुनै पनि प्रकारको छानबिन गर्नका लागि म तयार छु। कुनै पनि तरिकाको छानबिन कुनै पनि तरिकाको के–के गर्नुपर्छ यसमा यो मैले भनेको हो। तर, यसको पछाडि यो मोबाइलमा रेकर्ड हुँदैन तर सत्य के हो भन्दा खेरि चाहिँ आ–आफ्नो जुन कुराहरू छ, त्यो कुराहरुमा तपाईंहरु जानुपर्छ।’ उनले भनेका छन्–‘र, उहाँले स्वर्णिम वाग्लेले के भन्नु भयो भन्दाखेरि चाहिँ नेपाललाई भुटान बनाइदिने भन्ने कुराहरू भन्नु भयो।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट