प्रधानमन्त्रीमा ओलीको नियुक्ती आईतबार र सपथ सोमबार, २ उपप्रधानसहित ४ मन्त्री फाईनल

काठमाण्डौं– नेपाली कांग्रेसले केपी ओली नेतृत्वको सरकारमा जाने १० मध्ये तीन मन्त्रीको नाम टुङ्गो लगाएको छ। अहिलेसम्म प्रकाशमान सिंह, रमेश लेखक र आरजु राणा मन्त्री बन्ने लगभग पक्का जस्तै छ।

ओली नेतृत्वको सरकारमा कांग्रेसले १० र एमालेले ९ मन्त्रालय पाउने सहमति छ। धेरै सांसदले मन्त्रीका लागि दाबी गरिरहेकाले अन्य नाम टुङ्गा नलागेको एक नेताले वताए। अहिलेसम्म सिंहको नेतृत्वमा सरकारमा जाने कांग्रेसको तयारी छ।

तर, उनले रक्षा वा संघीय मामिला मन्त्रालय मध्ये के लिने भन्ने टुंगो लागेको छैन। तर, लेखकले गृह र पहिलोपटक मन्त्री बन्न लागेकी आरजुले परराष्ट्र मन्त्रालयको नेतृत्व गर्ने लगभग पक्का छ। कांग्रेसमा कोशीबाट दीपक खडका र रामहरि खतिवडा, मधेशबाट अजयकुमार चौरसिया र तेजुलाल चौधरी, बागमतीबाट नेता प्रदीप पौडेल, उदयशमशेर राणा र रामनाथ अधिकारी दाबेदार छन्।

यसैगरी, गण्डकीबाट जीवन परियार र शंकर भण्डारी, संस्थापन इतरबाट चन्द्र भण्डारी र हृदयराम थानी अनि बद्रि पाण्डे, वीरबहादुर बलायर, ईश्वरी न्यौपाने र किशोरसिंह राठोर मन्त्रीका दाबेदार हुन्।

अव मन्त्रिमण्डल भने सोमबार मात्रै गठन हुनेछ। आईतबार साँझ प्रधानमन्त्री नियुक्त गरेर सपथ लगायतका कार्यक्रम सोमबार मात्रै गर्ने तयारी छ। प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट विश्वास गुमाएपछि राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार साँझ ५ बजेसम्मकै लागि प्रधानमन्त्रीमा दाबी पेश गर्ने समय दिएकाले सपथको कार्यक्रम सोमबारका लागि तय गरिएको हो।

ओलीले प्रधानमन्त्रीको शपथ लिए लगत्तै एमालेबाट विष्णुप्रसाद पौडेल र कांग्रेसबाट प्रकाशमान सिंहले उपप्रधानमन्त्रीको शपथ लिनेछन्। सोमबार नै अरु मन्त्रीहरुलाई पनि शपथ गराउने तयारी भइरहेको छ। संभवतः १५ जनाको मन्त्रिपरिषद् सोमबार नै गठन गर्ने तयारी छ।

शुक्रबार प्रतिनिधि सभामा विश्वासको मत पाउन नसकेपछि पुष्पकमल दाहाल प्रधानमन्त्रीबाट मुक्त भएका थिए। उनको पक्षमा ६३ र विपक्षमा १९४ मत परेको थियो। अहिले दाहालकै सरकारले काम चलाउ काम गरिरहेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनको लागि आह्वान गरे लगत्तै एमाले अध्यक्ष ओलीले शुक्रबार साँझ नै कांग्रेसका ८८ र एमालेका ७८ गरी १६६ सांसदको समर्थनसहित प्रधानमन्त्री नियुक्त गर्न दावी गरिसकेका छन्।

कांग्रेस र एमालेबीच पहिलो दुई वर्ष केपी ओली र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावी सरकारको नेतृत्व गर्ने समझदारी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट