१८ महिने सत्ता सुखभोगपछि पदमुक्त भए प्रचण्डः उनको पक्षमा ६३ सांसद मात्रै

काठमाण्डौं– १८ महिनाको सत्ता सुखभोगपछि प्रधानमन्त्री पुष्पकमल दाहाल शुक्रबार पदमुक्त भएका छन्। शुक्रबार प्रतिनिधि सभामा बहुमत गुमाएपछि उनी पदमुक्त भएका हुन्।

२५८ जना सांसद उपस्थित रहेकोमा प्रधानमन्त्रीको प्रस्तावका पक्षमा जम्मा ६३ मत मात्रै परेको छ। बहुमतका लागि उनलाई १३८ जना सांसदको साथ चाहिएको थियो। उनको विपक्षमा १९४ मत परेको सभामुख देवराज घिमिरेले बताए।

एक जना सांसदले पक्ष वा विपक्षमा मतदान गरेनन्। प्रधानमन्त्री दाहालको पक्षमा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) ले मत दिएका छन्। नेपाली कांग्रेस, नेकपा (एमाले), जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमतलगायतका दलले दाहालको विपक्षमा मतदान गरे।

प्रधानमन्त्री बने यता दाहालले शुक्रबार पाँचौं पटक विश्वास मत मागेका थिए। चौथो पटकसम्म विश्वास मत पाउँदै आएका दाहालले यसपालि विश्वास मत जुटाउन सकेनन्। गत असार १७ गते संसदका दुई ठूला दल कांग्रेस र एमालेबीच नयाँ सरकार गठन गर्नेलगायत सहमति बनेको थियो।

त्यसपछि एमालेलगायत दलले समर्थन फिर्ता लिँदै मन्त्रीहरूले पदबाट राजीनामा दिएका थिए भने प्रधानमन्त्रीले संवैधानिक व्यवस्थाअनुसार विश्वास मत प्रस्ताव राखेका थिए। सहमति अनुसार अब एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने छन्।

१० पुस २०७९ मा प्रधानमन्त्री नियुक्त भएका दाहालले पहिलो पटक २६ पुसमा विश्वासको मत पाएका थिए। उनको पक्षमा २६८ मत परेको थियो भने विपक्षमा २ मत मात्र परेको थियो। दोस्रो पटक उनले ६ चैत २०७९ मा १७२ मत पाए भने तेस्रो पटक ३० फागुन २०८० र चौथो पटक ७ जेठमा विश्वासको मत लिँदा समान १५७ मत पाएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट