नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले २ वटा यात्रु बस पुरिए, ६५ जनाको अवस्था अज्ञात
चितवन– चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा शुक्रबार विहान करिब साढे ३ बजे पहिरोले दुईवटा यात्रु बसलाई पुरेको छ। भरतपुर महानगरपालिका–२९ सिमताल भन्ने स्थानमा पहिरो जाँदा यात्रुबस पुरिएका हुन।
काठमाडौंबाट रौतहट गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस पहिरोमा पुरिएको प्रहरीले जनाएको छ।
एउटा बसको केही भाग मात्र देखिएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिमालले वताए। चितवनका सीडीओ इन्द्रदेव यादवका अनुसार दुई बसमध्ये एन्जल बसमा २४ जना र गणपति डिलक्समा ४१ गरी ६५ जना यात्रु छन्। कतिपय यात्रुले हामफालेर ज्यान बचाएको वुझिएको छ। बसमा कति यात्रु परिए भन्ने यकिन विवरण आएको छैन।
त्यसैगरी सोही सडक खण्डको १७ किलोमा बिहान साढे तीन बजे खसेको पहिरोमा परी एक जना बस चालकको मृत्यु भएको छ। पहिरोको ढुंगाले लागेर लु २ ख ६५६६ नम्बरको बसका चालक नवलपरासी निवासी मेघनाथ विक मृत्यु भएको प्रहरीले जनाएको छ।
ढुंगाले लागेर घाईते भएका विकको उपचारका क्रममा चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा मृत्यु भएको डीएसपी रिजालले बताए। बस बुटवलबाट काठमाडौं जाँदै गरेको खुलेको छ।