मुकुल ढकालको साधारण सदस्यता छोडेर सवै जिम्मेवारी खोसियो, पुनरावेदनको म्याद ३५ दिन

काठमाण्डौं– राष्ट्रिय स्वतन्त्र पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले निलम्वित महामन्त्री मुकुल ढकाललाई पार्टीका सवै जिम्मेवारी खोसेको छ। ढकाल केन्द्रीय सदस्य, महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट मुक्त भएका छन्।

अब उनको साधारण सदस्य मात्र बाँकी छ। अनुशासन आयोगको सिफारिस अनुसार केन्द्रीय समितिले साधारण सदस्य कायम राखेर अरु सबै जिम्मेवारीबाट हटाउने निर्णय गरेको नेता तथा सांसद सोविता गौतमले बताईन।

ढकाललाई पुनरावेदनका लागि ३५ दिनको समय दिईएको उनको भनाई छ। ढकालमाथि समीक्षा प्रतिवेदन पार्टीमा बुझाउनुभन्दा पहिले मिडियामा सार्वजनिक गरेको, केन्द्रीय समिति बैठक लाइभ प्रसारण हुनुपर्ने माग सुनुवाइ नभएको भन्दै कालोटेप लगाएर बसेको र पार्टी सभापतिविरुद्ध अभिव्यक्ति दिएको आरोप छ।

गत बुधबारको रास्पाको बैठकले मुकुललाई सात दिनका लागि निलम्बन गर्ने निर्णय गरेको थियो। उनीमाथि थप कारबाही सिफारिस गर्न अनुशासन आयोगलाई जिम्मा दिइएको थियो। आयोगले ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको थियो।

तर, केन्द्रीय समितिको बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले साधारण सदस्यता भने कायम राख्नुपर्ने बताएका थिए। सोही सुझावका आधारमा ढकालको साधारण सदस्यता कायम राखिएको हो।

ढकालले भने आफु पार्टीबाट नभई रवि लामिछाने क्लबबाट निष्कासन भएको वताएका छन्। ‘रवि लामिछाने क्लबबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिँदैन,’ उनले भनेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट