चोर समाउन खटिएको प्रहरीले स्थानीयमाथि गोली चलायो, गोली लागेर २ जना घाईते

काठमाण्डौं– बाँकेमा विहिवार चोर समाउन खटिएको प्रहरीले स्थानीयवासीमाथि गोली चलाएको छ। डडुवा–६ शिखनपुरूवामा बिहीबार बिहान साढे ८ बजे प्रहरीले चलाएको गोली लागेर २ जना घाईते भएका छन्।

जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी नारायण डाँगीका अनुसार डाँका चोरी मुद्दामा फरार रहेका अभियुक्त सरमानसिंह सरदारलाई पक्राउ गर्न जाँदा अवरोध गरेपछि प्रहरीले गोली चलाएको हो।

डाँका चोरी मुद्दामा बाँके जिल्ला अदालतले १८ असार ०७० मै सरमान विरुद्ध ६ वर्ष कैद र १२ हजार जरिवानाको फैसला सुनाएको थियो। फैसलापछि फरार रहेका उनलाई नियन्त्रणमा लिएर फर्कदै गर्दा स्थानीयवासीले एक्कासी अवरोध गरेको डीएसपी डाँगीले बताए।

स्थानीयले ढुंगामुढा गर्दै हतियार खोस्न खोजेपछि प्रहरीले ३ राउण्ड गोली चलाएको उनको भनाई छ। ३० वर्षीय नानकसिंह शिखको दायाँ खुट्टामा र प्रतिवादी सरमानसिंहको दाहिने घुँडामा एक/एक राउण्ड गोली लागेको छ। स्थानीयवासीको आक्रमणमा प्रहरी वरिष्ठ हवल्दार मदन डाँगी घाईते छन्। इँटाले लागेर उनको टाउकोमा चोट लागेको छ।

घाइते तीनै जनाको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट