रास्वपाले महामन्त्री ढकाललाई गर्यो ७ दिनको कार्वाही, प्रवक्ताको जिम्मेवारी पनि खोसियो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकाल कारवाहीमा परेका छन्। बुधबार बसेको केन्द्रीय समिति बैठकले उनलाई पदबाट निलम्बन गरेको हो।

अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै ढकाललाई ७ दिनका लागि निलम्बन गरिएको जनाईएको छ। पार्टीका सहप्रवक्ता मनिष झाका अनुसार केन्द्रीय समितिले सहमहामन्त्री कबीन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री र सहप्रवक्ता झालाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी दिएको छ।

बुधबारको केन्द्रीय समिति बैठकमा ढकाल भने मुखमा कालो टेप लगाएर बसेका थिए। बोल्न नपाएको र ‘ह्यारेसमेन्ट’ गरिएको भन्दै उनी बैठकको बीचमै उठेर हिडेका थिए। उनले पार्टी सभापति रवि लामिछानेको कार्यशैलीमाथि प्रश्न पनि उठाए।

गोर्खा मिडियामा भएको गलत कामको दोष जीबी राईलाई लगाएको लामिछानेले अहिले पार्टीमा आफूलाई दोष थुपारेर उम्किन खोजेको आरोप उनले लगाएका थिए। पार्टीको महामन्त्री प्रबन्ध निर्देशक (रवि गोर्खा मिडियामा त्यही पदमा थिए) जस्तै पद भएको उनको दावी छ।

‘हिजो जीबी राईको गल्ती, आज महामन्त्रीको गल्ती। मैले चाहिँ कहिल्यै गल्ती गर्दिन भन्ने व्यवहार सभापतिले देखाउनुभएको छ’ उनले भने–‘जब उहाँ पत्रकार हुनुहुन्थ्यो तब नेता दोषी। जब नेता हुुनुहुन्थ्यो, तब पत्रकार दोषी। जब उहाँ प्रतिपक्ष हुनुहुन्थ्यो, तब सत्तापक्ष दोषी। जब सत्तापक्ष हुनुहुन्थ्यो, तब प्रतिपक्ष दोषी यो प्रकारको व्यवहार चित्तबुझ्दो भएन।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट