अंशको विवादमा ८ लाख फिरौती दिएर भतिजाले काकासहित २ जनाको हत्या गराएको खुलासा

वीरगन्ज– अंश विवाद उत्कर्षमा पुगेपछि पर्सामा एक युवकले भिनाजु मार्फत ५ लाख सुपारी दिएर काकासहित २ जनाको हत्या गराएको खुलेको छ।

२९ जेठमा पर्साको नेपाल–भारत सीमा नजिक जगरनाथपुर गाउँपालिका–१ बिसुनपूर्वा टोलको ओरिया खोला किनारमा फेला परेका २ वटा शवको अनुशन्धान गर्ने क्रममा प्रहरीले यो खुलासा गरेको हो।

काकाको हत्या आरोपमा भतिज वीरगञ्ज महानगरपालिका–१५, भिष्वाक ३३ वर्षीय लक्ष्मणकुमार पण्डित प्रजापतिसहित ३ जनालाई प्रहरीले पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१५ भिष्वाकै ३२ वर्षीय सन्तोषप्रसाद कुम्हार र पर्साको जगरनाथपुर गाउँपालिका–५, धर्मपुरका ४५ वर्षीय महादेव महतोसमेत छन्।

शव फेला परेपछि घटनास्थलबाटै अनुसन्धान सुरु गरेको प्रहरीले त्यहाँ कालो झोलामा पूजा सामग्री फेला परेको थियो। त्यसैलाई आधार मानेर अनुसन्धान गर्दा शवको पहिचान गर्न सहज भएको प्रहरीले जनाएको छ।

मृतकहरु बाराको कलैया उपमहानगरपालिका–५ का ५५ वर्षीय रामएकवाल पण्डित कुम्हार र उनकै साथी आदर्शकोतवाल गाउँपालिका घर भइ कलैया बस्दै आएका ४० वर्षीय सुरेश ठाकुर भएको प्रहरीले यस अघि नै सार्वजनिक गरेको थियो।

सनाखत भएपछि थप अनुसन्धान गर्ने क्रममा पारिवारिक रिसइबीका कारण दुवैको हत्या भएको खुलेको प्रहरीको भनाई छ। मृतक रामएकवाल र उनका दाजुबीच अंश विवाद थियो। विवाद समाधान नहुँदै रामएकवालका दाजु (लक्ष्मणका बुबा) को मृत्यु भयो। त्यसको केही समयपछि लक्ष्मणकी अढाई वर्षीया बहिनी र गोठाका गाईभैसी पनि मरे।

यो सवै घट्नाको दोष लक्ष्मणले रामएकवाल र उनका साथी सुरेषलाई लगाए। रामएकवाल मेडिकल पसल सञ्चालन गर्दै आएका थिए भने सुरेष झारफुकको काम गर्थे। कसैले बोलाएका बेला रामएकवाल र सुरेष दुवै जना जान्थे। उनीहरु किसानको सन्तुष्टिका लागि झारफुक पनि गर्ने र आवश्यक्ता अनुसार औषधि पनि दिने गर्थे।

काकासँग विवाद र काकाका साथी झारफुक गर्ने भएकाले टुनामुना गरेर आफ्नो वुबा, वहिनी र पशुचौपाया क्षती गरेको लक्ष्मणको वुझाई थियो। सोही आवेशमा आएर उनले आफ्ना भिनाजु सन्तोष पण्डितलाई ८ लाख रुपैयाँ दिएएर दुवैको हत्या गर्न लगाएको खुलेको पर्सा प्रहरीका एसपी कुमोध ढुंगेलले जानकारी दिए।

लक्ष्मणले करिव ४ महिनाअघि सन्तोषलाई पैसा दिएको र सन्तोषले नै मान्छे खोजेर रामएकवाल र सुरेशको हत्या गराएको उनले जानकारी दिए। हत्याको योजना बनाइसकेपछि २५ जेठमा दुवै जनालाई झारफुक गर्न भन्दै बाराबाट पर्सा बोलाइएको थियो। यसको प्रमाण प्रहरीले सीसीटीभी फुटेजबाट फेला पारेको थियो।

रामएकबाल र सुरेष २५ जेठको साँझ ६ बजे बस चढेर वीरगञ्जतर्फ गएको कलैयाको भरतचोकस्थित सीसीटीभी फुटेजमा देखियो। एक अनुशन्धान अधिकृतका अनुसार गाडीबाट झरेपछि दुवैलाई १ ब्यक्तिले मोटरसाइकलमा चढाएर ओरिया खोलामा पुर्याएका थिए। त्यहाँ उनीहरुको हत्या गरिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट