आरजुलाई थुन्ने रविको हठले गठवन्धन ढल्यो, वुढानिलकण्ठमा शनिवार नै भएको थियो धरपकड

काठमाडौं– रास्वपाका उपसमापतिसमेत रहेका स्वर्णिम वाग्लेलगायतको सल्लाहमा गृहमन्त्री रवि लामिछाने सांसद तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नि आरजु राणालाई पक्राउ गर्न खोजेपछि रातारात सत्ता गठवन्धन परिवर्तन भएको खुलेको छ।

स्रोतका अनुसार रविले आफु निकटका ब्यक्तिसँग आरजूलाई ‘पक्राउ गरेर १ घन्टा भए पनि थुन्ने’ बताउँदै आएका थिए। उनको यही हठले गठबन्धन टुटेको रास्वपाकै नेताहरु बताउँन थालेका छन्। उनीहरुका अनुसार टीकापुर जग्गा घोटाला प्रकरणमा आरजुलाई पक्राउ गर्न लामिछानेले नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआबी)लाई ठाडो निर्देशन दिएका थिए।

सोही निर्देशन अनुसार सीआईबीको टोली शनिबार देउवा निवास बुढानिलकण्ठ पुगेको थियो। प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवर विदेश भ्रमणमा रहेका बेलामा लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहालसमेतलाई जानकारी नदिई एआईजी श्यामलालमार्फत सीआईबीको टोली परिचालन गरेका थिए।

सहकारी ठगी प्रकरणमा फसेका लामिछाने आफुलाई असहयोग गरेको भन्दै पछिल्लो समय आईजीपी कुँवरसँग रुष्ट छन्। त्यसैले उनले अधिकांश काम ज्ञवालीलाई अघि सारेर गर्ने गरेका छन्। ज्ञवाली मार्फत सीआईबीले देउवा निवास आसपासको सडक सिल गरेर घेराबन्दी गरेको थियो। यो विषय देउवाका स्वकीय सचिव भानु देउवासम्म पुगेपछि आरजू पक्राउ पर्नबाट जोगिएको जनाईएको छ।

टीकापुर जग्गा अनियमितता र सरकारी दस्तखत छाप किर्तेमा स्थलगत अनुसन्धानका लागि सीआईबीको एक टोली टिकापुरमै छ। टीकापुरमा आरजुको नाममा ३.७ कट्ठा जग्गा छ। तर, उनले भने प्रतिकट्ठा १५ हजार रुपैयाँका दरले त्यो जग्गा किनेको दाबी गर्दै आएकी छिन्।

टीकापुर विकास समितिका नाममा बाँडिएको जग्गामा अनियमितता भएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ। यही प्रकरणमा पक्राउ पर्ने डरले आरजु पतिसमेत लिएर १५ असारमा एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेकी थिईन। झन्डै ३ घण्टाको उनिहरुको छलफलमा आलोपालो प्रधानमन्त्री बन्ने मुख्य समझादारी भएको छ। गठवन्धन टुट्नुमा अन्य धेरै कारण मध्ये प्रमुख कारण चाहीँ आरजुलाई पक्राउ गर्न प्रहरीको धरपकड नै भएको स्रोतको दावी छ।

एमाले–कांग्रेसको नयाँ गठबन्धन बनेसँगै लामिछानेले ‘कसलाई जोगाउनका लागि रातारात परिवर्तन भयो होला। यति पनि बुझ्न सकिँदैन र ?’ भन्दै प्रतिक्रिया जनाएका छन्। आफूले फाइल खोलेपछि एक रात पनि टिक्न नसक्ने अवस्था आएको भन्दै उनले एकाएक संविधान जोगाउनुपर्ने चिन्ता किन आयो? भन्दै प्रश्न गरेका छन्।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट