पूर्वगृहमन्त्री थापाका छोरा प्रतिकको सुरु भयो जेल यात्रा, थुनामा राख्न अदालतको आदेश

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ।

न्यायाधीश सकुन्तला कार्कीको मंगलबारको इजलासले उक्त प्रकरणमा थापाको संलग्नता नरहेको भन्न नसकिने भन्दै थुनामा राखेर मुद्दा पुर्पक्ष गर्न आदेश दिएको हो। थापालाई केन्द्रीय कारागार पठाइएको छ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न रहेको आरोपमा एमाले नेता टोपबहादुर रायमाझीसहित ७ जना हाल पुर्पक्षका लागि थुनामा छन्। कांग्रेस नेता बालकृष्ण खाँण र आङटावा शेर्पासहित भने धरौटीमा रिहा भएका छन्।

यो प्रकरणको छानविन हुन थालेपछि फरार रहेका थापालाई गत शुक्रबार काठमाडौंको बौद्धबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यो प्रकरणमा प्रतिककी आमा नैनाकला थापाको नाम पनि मुछिएको छ। ठगी धन्दामा संलग्न मुख्य योजनाकार मध्येका केशव प्रसाद दुलालले नैनाकलालाई पुल्चोकस्थित मन्त्रीक्वार्टरमा पुगेर रकम बुझाएको बयान दिएका छन्।

सानु भण्डारीले क्वार्टरमा लगेर नैनाकलालाई रकम बुझाएको कुरा नक्सालस्थित निलगिरी थकाली भान्सा घरबाट छोरा प्रतीक थापाले फोन गरेर ‘भेरिफाई’ गरेको दुलालले बताएका छन्। उनका अनुसार थकालीबाट नैनाकला थापालाई प्रतीक थापा मगरले फोन गरेर सोधेका थिए–‘आमा १ करोड रुपैयाँ पाउनु भयो कि भएन?’

तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजीत राईले पटक–पटक करोडौँ रकम लिएको गिरोहका सदस्यहरूले बयानमा खुलाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट