कांग्रेस–एमालेबीच मध्येरातमा नयाँ गठवन्धन गर्ने सहमतिः ‘जादुवाला नम्बर’ ले कुर्सीको डिलमा प्रचण्ड

काठमाडौं– केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहालले आफुसँग ‘जादुवाला नम्बर’ भएकाले कसैले पनि सत्ताबाट हटाउन नसक्ने भन्दै भाषण गरे। त्यो जादुले जे गरेर भएपनि मिलाइहाल्ने दावी गरेका उनले गठबन्धन पाँचैवर्ष जाने र उस्तै परे पुरै कार्यकाल आफैं प्रधानमन्त्री रहने वताए।

उनको यही भाषण उनको सत्ता वहिर्गमनको एउटा कारण बनेको छ। सत्ता गठवन्धन फेर्ने कसरत गरिरहेका कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली दाहालको यही भाषणका कारण थप सकृय भए र अन्ततः सोमबार मध्ये राती नयाँ सहमति गरे।

उद्यमी रामेश्वर थापाको चपलीहाइटस्थित घरमा राती १२ बजे भएको सहमति अनुसार नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउने सहमति भएको छ। दुई दलबीच आलोपालो सरकारको नेतृत्व गर्ने र पहिलो चरणमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने सहमति भएको छ।

एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिनेछ। दुई दलबीच संविधान संशोधनका लागि सुझाव दिन एक समिति बनाउने पनि सहमति भएको स्रोतले जानकारी दिएको छ।

निर्वाचनयता दुई वर्ष नपुग्दै माओवादीबाट आलोपालो धोका पाएका दुवै दलले अब सकेसम्म सबै दललाई समेटेर सरकार बनाउने सहमति गरेका छन। राष्ट्रिय सहमतिको सरकार सम्भव नभए संविधान संशोधनका लागि आवश्यक पर्ने दुई तिहाइ समर्थन जुटाएर सरकार बनाउने लक्ष्य कांग्रेस र एमालेको छ।

कांग्रेस–एमालेको सहमतिसँगै निर्वाचनयता डेढ वर्षको बीचमा तीन पटक गठबन्धन फेरेका प्रधानमन्त्री दाहाल नेतृत्वको सरकार विस्थापनको डिलमा पुगेको छ। एमाले सरकारबाट अलग भएर समर्थन फिर्ता लिनासाथ दाहाल अल्पमतमा पर्ने छन। त्यसो हुँदा उनलाई तत्काल राजीनामा दिने वा विश्वासको मत लिने विकल्प हुनेछ।

राजनीतिको विकसित घटनाक्रमबारे देउवा र ओलीले राष्ट्रपति रामचन्द्र पौडेललाई समेत मध्यरातमै जानकारी गराएका छन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट