कांग्रेसको सांसद पड्काएर एमालेमै फर्किए जितेन्द्रनारायण देव

काठमाण्डौं– नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद जितेन्द्रनारायण देव एमाले प्रवेश गरेका छन्। उनलाई एमाले पार्टी केन्द्रीय कार्यालय, च्यासलमा अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरे।

विजयकुमार गच्छदार नेतृत्वको दल मधेसी जनअधिकार फोरम लोकतान्त्रिकमा रहेका देव पार्टीसँगै कांग्रेसमा समाहित भएका थिए। कांग्रेस केन्द्रीय सदस्य रहेका देव संविधान सभा सदस्य तथा राष्ट्रिय सभा सदस्य बनेका थिए।

सप्तरीको राजविराज–६ लिल्जा टोल (राजविराज १६ बोरिया) निवासी देव २०४९ सालमा एमालेबाटै राजनीति गरेका व्यक्ति हुन्। एमाले भ्रातृ संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ (प्ररायु संघ/हाल युवासंघ) को दोस्रो समितिमा देव उपाध्यक्ष थिए। केपी ओली युवासंघको संस्थापक अध्यक्ष हुन भने त्यसपछि केशव स्थापित अध्यक्ष भएका थिए। स्थापितको कार्याकालमा देव उपाध्यक्ष थिए।

संघीयता र पहिचानको मागसँगै क्षेत्रीय राजनीति उत्कर्षमा पुगेपछि उनले ०६३ सालमा एमाले त्यागेका हुन। सुरुमा उनी उपेन्द्र यादव नेतृत्वको मधेशी जनाधिकार फोरममा आवद्ध थिए। विजय गच्छदारले पार्टी विभाजन गरेपछि उनी गच्छेदारको पार्टी मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको महासचिव भए भने सोही पार्टीबाट संविधान सभा सदस्य पनि भए।

पछि गच्छदारसहित कांग्रेससँग एकता गर्दा देव स्वतः कांग्रेस भए। कांग्रेसले उनलाई राष्ट्रिय सभा सदस्य बनाएको थियो। उनी कांग्रेस छोडेर सोमवार एमाले प्रवेश गरेका हुन। देवसँगै प्रभु साहको आम जनता पार्टी (आजपा) छोडेर अकबाल अहमद साह पनि एमाले प्रवेश गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट