सशस्त्र प्रहरीद्वारा ब्यापारीमाथि हेल्मेट प्रहार, नाक र मुख फुटेर ब्यापारी अस्पताल भर्ना
दमक– झापाको झापा गाउँपालिकामा सशस्त्र प्रहरी जवानले आईतबार दिउँसो एक स्थानीय व्यापारीलाई हेल्मेटले हानेर घाईते बनाएका छन्।
सशस्त्र प्रहरीको हेल्मेट प्रहारबाट झापा–४, भामटोलीका ५० वर्षीय हबिबुल्लाहको नाक र मुखमा चोट लागेको छ। झापा गाउँपालिका–४ का वडाध्यक्ष मोहमद ताहिरका अनुसार नाक र मुख फुटेर रगताम्य भएका हबिबुल्लाहको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ।
वडाध्यक्ष ताहिरका अनुसार पन्थापाडा र सुकुमबासी बस्तीको बीचमा घट्ना भएको हो। उनका अनुसार कपडा पसल गर्ने हबिबुल्लाहका भाइ विदेश जाने तयारीमा छन्। उनले आफ्नो कपडा पसल स्थानीय व्यापारी निर्मल मर्डीलाई बिक्री गरेका थिए। मर्डी सोही कपडा लिएर मोटरसाइलमा गईरहेका बेला सशस्त्र प्रहरीले रोक्यो।
मर्डीले घट्नाक्रम बताए पनि सशस्त्र प्रहरीले बील नदेखाई जान नदिने बतायो। त्यसपछि मर्डीले वडाध्यक्ष ताहिर र हबिबुल्लाहलाई फोन गरेर बोलाए। वडाध्यक्ष ताहिर र हबिबुल्लाह दुवै घट्नास्थलमा पुगेर कपडाको बील देखाए।
तर, सशस्त्र प्रहरीले आफुलाई समेत ‘तिमी को हौ, समान छोडेर जाउ’ भन्दै हप्काएको र हबिबुल्लाहलाई हातपात गरेको वडाध्यक्ष ताहिरले बताए। त्यसपछि हबिबुल्लाहले पनि प्रहरीलाई धकेल्दा हेल्मेटले हानेर घाईते बनाएको उनको भनाई छ।
सशस्त्र प्रहरीले भने यस विषयमा कुनै पनि सार्वजनिक प्रतिक्रिया जनाएको छैन।