असई थमन विक हत्या प्रकरणमा पूर्वप्रदेश सांसद कौशलकुमार यादव पक्राउ

जनकपुर– करिव ९ वर्षअघि सशस्त्र प्रहरी बलका असई थमन विक हत्या गरेको अभियोगमा जन्मकैदको सजाय सुनाइएका पूर्वप्रदेश सांसद एवम लोसपाका नेता कौशलकुमार यादव पक्राउ परेका छन्।

महोत्तरी प्रहरीका डीएसपी सन्तुलाल जयसवालका अनुसार यादवलाई शनिबार राति महोत्तरीको साम्सी गाउँपालिका–५ पोखरीभण्डाबाट पक्राउ गरिएको हो। उनलाई आजै जिल्ला अदालत महोत्तरीमा हाजिर गरिएको छ।

०७४ मा तत्कालीन संघीय समाजवादी फोरमबाट महोत्तरी क्षेत्र नं. ४ (क) मा प्रदेश सांसद निर्वाचित भएका यादव ०७९ को निर्वाचन अघि कारवाहीमा परेका थिए। त्यसपछि लोसपाबाट चुनाव लडेका उनी पराजित भए। अदालतमा मुद्दा चलिरहँदा उनी फरार नै थिए।

महोत्तरी जिल्ला अदालतले २८ मंसिरमा ०८० असई थमन विक हत्या प्रकरणमा लोसपा मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मासहित ७ जनालाई जन्मकैदको सजाय सुनाएको थियो। जसमा एमाले प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो र पुर्पक्षका लागि थुनामा रहेका पवन कापरले सफाइ पाएका थिए।

मधेश आन्दोलनका क्रममा २५ भदौ २०७२ मा महोत्तरीमा सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या भएको थियो। सशस्त्र प्रहरी बल जिल्ला कमाण्डपोष्ट सुरक्षा बेसक्याम्प जलेश्वर महोत्तरीमा कार्यरत असई विकलाई तत्कालीन मधेशी मोर्चाका कार्यकर्ताले नियन्त्रणमा लिई लाठी, लात्ती, मुक्काले हानेर गम्भिर घाइते बनाएका थिए।

घाइते विकलाई उद्वार गरी प्रहरीले उपचारका लागि जिल्ला अस्पताल जलेश्वर पु¥याएको थियो। जलेश्वरमा प्रारम्भिक उपचारपछि एम्बुलेन्समा तत्कालीन जनकपुर अञ्चल अस्पताल ल्याउँदै गर्दा साविक महोत्तरी वडा नम्बर ८ स्थित सनोखडास्थित धान खेतमा आन्दोलनकारीले असई विकको हत्या गरेका थिए।

उक्त मुद्दामा २८ साउन २०७५ मा महोत्तरी जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो। जसमा २८ जनालाई प्रतिवादी बनाईएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट