१७ वर्षपछि भारतले विश्वकपको उपाधि उचालेसँगै कप्तान रोहित र विराटले लिए सन्यास

काठमाडौँ— दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै आईसीसी टी–२० विश्वकप २०२४ को उपाधि जितेसँगै भारतीय कप्तान रोहित शर्मा र स्टार क्रिकेटर विराट कोहलीले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन्।

आफनै नेतृत्वमा भारतले १७ वर्षपछि विश्वकप उपाधि जितेसँगै शनिबारको खेलपछि शर्माले पत्रकार सम्मेलन गरी सन्यासको घोषणा गरे। भारतले सन् २००७ पछि पहिलो पटक टी–२० विश्वकप उपाधि जितेको हो।

कप्तान शर्माले ट्वान्टी–२० विश्वकपको फाइनल नै उनको टवान्टी–२० अन्तर्राष्ट्रिय करिअरको अन्तिम खेल भएको बताए। ‘यो मेरो अन्तिम प्रतिस्पर्धा थियो। मैले हरेक क्षणलाई प्रेम गरेको छु। म यही चाहन्थेँ’ उनले भनेका छन्–‘म भारतलाई विश्वकप जिताउन चाहन्थेँ ।’

रोहित शर्माले टेस्ट र एकदिवसीय क्रिकेट भने खेलिरहनेछन्। कोहलीले पनि ट्वान्टी–२० अन्तर्राष्ट्रियबाट संन्यास लिएका छन्। विश्वकप फाइनल खेलमा कोहलीको उत्कृष्ट प्रदर्शन गरे। दक्षिण अफ्रिकाविरुद्ध भारतले १७६ रन बनाउँदा कोहली एक्लैले ५९ बलमा ७६ रन बनाए। उनी प्लेयर अफ द म्याचसमेत चुनिए।

१७७ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाउँदै १६९ रन बनायो। दक्षिण अफ्रिकाका हेनरिक क्लासेनले २७ बलमा २ चौका र ५ छक्का सहित सर्वाधिक ५२ रन बनाए पनि हार टार्न सकेनन्।

एक समय दक्षिण अफ्रिकालाई अन्तिम ३० बलमा ३० रन चाहिएको थियो। १७औं ओभरको पहिलो बलमा हार्दिक पान्ड्याले हेनरिक क्लासेनलाई क्याच आउट गरेपछि भारतले खेलमा नाटकीय पुनरागमन गरेको थियो। अन्तिम ६ बलमा १६ रन चाहिएको थियो। हार्दिक पान्ड्याको बलमा मिलर सूर्यकुमार यादवबाट बाउन्ड्रीमा उत्कृष्ट क्याच आउट भएपछि जितको सम्भावना सकिएको थियो।

ओपनर रिजा हेन्ड्रिक्स र कप्तान एडेन माक्ररम ४–४ रनमा आउट हुँदा दक्षिण अफ्रिका १२–२ को अवस्थामा थियो। तेस्रो विकेटका लागि टिस्टन स्टब्स र क्विन्टन डि ककले ३८ बलमा ५८ रनको साझेदारी गरेका थिए । स्पिनर अक्षर पटेलको बलमा स्वीप खेल्ने धुनमा स्टब्स २१ बलमा ३ चौका र १ छक्का सहित ३१ रनमा बोल्ड आउट हुँदा दक्षिण अफ्रिका ८.५ ओभरमा ७०–३ को अवस्थामा थियो।

भारतका जस्प्रित बुमराहले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए भने हार्दिक पान्ड्याले ३ ओभरमा २० रन खर्चेर ३ विकेट लिए। अर्शदीप सिंहले २ र अक्षर पटेलले १ विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको भारतले २० ओभरमा ७ विकेट गुमाउँदै १७६ रन बनाएको थियो। ओपनर विराट कोहलीले सर्वाधिक ५९, अक्षर पटेलले ३१ बलमा १ चौका र ४ छक्का सहित ४७, ओपनर रोहित शर्मा ९, ऋषभ पन्त शून्य, सूर्यकुमार यादव ३, शिवम दुबे १६ बलमा ३ चौका र १ छक्कासहित २७ तथा रविन्द्र जडेजा २ रनमा आउट भए। हार्दिक पान्ड्या ५ रनमा नट आउट रहे।

दक्षिण अफ्रिकाका केशव महाराजले र एनरिच नोर्कियाले २÷२, कागिसो रबाडा र मार्को यानसनले १–१ विकेट लिएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट