आफैले वुझाएको प्रतिवेदनका कारण रास्वपाका महामन्त्री ढकाल कारवाहीमा पर्ने खतरा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को धरातल गुम्दै गएको र बोल्ड डिसिजन नगरे अर्को निर्वाचनसम्ममा ‘विवेकशिल साझाको हालत हुने’ भन्दै ३२ पृष्ठ लामो प्रतिवेदन बुझाएपछि महामन्त्री डा. मुकुल ढकालले कारवाहीमा पर्ने खतरा वढेको छ।

बुधबार साँझ पार्टी सभापति रवि लामिछानेलाई प्रतिवेदन वुझाएसँगै उनलाई कारवाही गर्न पार्टीका नेताहरुले आवाज उठाएको स्रोतको दावी छ। महामन्त्री ढकालले बुधबार साँझ सभापति लामिछानेलाई बुझाउनु अगावै ‘प्रतिवेनको अंश’ सार्वजनिक गरेका सूचनाका कारण उनीमाथि अन्य नेताले धावा वोलिरहेको स्रोतको भनाई छ।

महामन्त्री ढकालले सूचना दिँदै यो पनि भनेका थिए कि ‘प्रतिवेदनका कारण म पार्टीबाट घोक्राइन सक्छु’। पार्टीका केही नेताहरूले यसबारे पनि सभापति लामिछानेको ध्यानाकर्षण गराएका थिए। उनीहरुले महामन्त्री ढकाललाई कारबाही गर्नेबारे अनौपचारिक रूपमा आवाज उठाएको एक नेताले पुष्टि गरे।

दोस्रो उपनिर्वाचन (इलाम २) मा जमानत जफत भएपछि आत्तिएको रास्वपाले महामन्त्री ढकाललाई स्थानीय तहमा पुगेर नेता÷कार्यकर्ताहरूले दिएको सुझावअनुसारको प्रतिवदेन तयार पार्न निर्देशन दियो।

त्यसअनुरूप उनी जेठ ६ देखि असार ६ गतेसम्म देशका खासगरी पूर्वी–मधेस केन्द्रित भएर ३८ वटा जिल्ला पुगे र ३२ पृष्ठ ११ बुँदामा प्रतिवेदन तयार पारे। सोही प्रतिवेदन उनले बुधवार लामिछानेलाई वुझाए। प्रतिवेदनमा आफूले गाउँ तहका नेता÷कार्यकर्ताहरूले जे सुझाव दिए, त्यही लेखेको महामन्त्री मुकुलको दाबी छ।

प्रतिवेदनमा उनले पार्टी गम्भीर बिरामी भएको र त्यसको सर्जरी तत्कालै गरिहाल्नुपर्ने, अब पनि सही दिशामा नहिँडे अर्को आवधिक निर्वाचनसम्ममा पार्टी ‘विवेकशील साझा पार्टी’ले भोगेको नियतिबाट गुज्रिनुपर्ने, पुष्पकमल दाहाल ‘प्रचण्ड’–केपी शर्मा ओलीसँग मिल्नुभन्दा बालेन शाह–हर्क साम्पाङसँग मिल्नु पार्टीका लागि लाभप्रद हुनेलगायत उल्लेख गरेका छन्।

साथै उनले यो प्रतिवेदन जस्ताको तस्तै सार्वजनिक गर्न पनि माग गरेका छन्। प्रतिवेदन सार्वजनिक नभए आफुमाथि राजनीतिक अन्याय हुने उनले जनाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट