रवि प्रकरणमा संसदीय समितिले काम थाल्यो, ९ वटा सहकारीको कागजात झिकाउने निर्णय

काठमाडौँ– सहकारी ठगी प्रकरणमा नाम जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका विषयमा संसदीय छानविन समितिले अध्ययन थालेको छ। समितिले लामिछानेको नाम जोडिएका ९ वटा सहकारीहरूको कागजात मगाउने निर्णय गरेको छ।

संसदीय छानबिन विशेष समितिको बुधबार बसेको बैठकले समितिको कार्यादेशअनुसार अनुसूची २ मा रहेका अनुसूची २ मा उल्लेखित सहकारीको कागजात मगाएको हो। जसमा आईडियल यमुना बहुउद्देश्यीय संस्था, ईमेज बचत तथा ऋण सहकारी संस्था लि, सहारा बचत था ऋण सहकारी, समानता बचत तथा ऋण सहकारी, सानो पाइला बचत तथा ऋण सहकारी, सुप्रिम बचत तथा ऋण सहकारी, सूर्यदर्शन बचत तथा ऋण सहकारी, सुमेरु बचत तथा ऋण सहकारी र स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी रहेका छन् ।

यीमध्ये पोखराको सूर्यदर्शनलगायत केही सहकारीबाट गोरखा मिडियामा बचत रकम आएको आरोप छ। ग्यालेक्सी टेलिभिजन सञ्चालक संस्था गोरखा मिडिया हो। रवि लामिछाने ग्यालेक्सी टिभीको प्रबन्धक थिए।

रवि लामिछाने पनि सहकारी प्रकरणमा जोडिएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदमा आवाज उठाएपछि संसदीय छानबिन समिति गठन भएको थियो। समितिका सभापति सुर्य थापाले ९ वटा सहकारीका पछिल्लो साधारण सभाको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, सञ्चालक समितिको विवरण, लेखा सुपरीवेक्षण समिति र त्यसको प्रतिवेदनलगायत माग गरिएको बताए।

सहकारीबारे यसअघि गठन भएका विभिन्न ८ वटा आयोग÷समितिका प्रतिवेदन पनि संसदीय समितिलाई प्राप्त भइसकेको सभापति थापाको भनाइ छ। कागजात आएपछि यसबारे थप प्रक्रिया अघि बढ्ने समितिका सदस्य एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले वताए।

सहकारी अभियन्तासमेतलाई बोलाइएको आजको वैठक करिब २ घण्टा चलेको थियो। सभापति थापाले अरू केही निकायहरूसँग पनि छलफल र बैठक गर्ने समितिले निर्णय गरेको बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट