कप्तान रोहित शर्माको शानदार ब्याटिङको मद्दतले भारत टी–२० विश्वकपको सेमिफाईनलमा

काठमाडौँ– अस्ट्रेलियालाई २४ रनले पराजित गर्दै भारत टी–२० विश्वकपको सेमिफाईनलमा प्रवेश गरेको छ। सुपर ८ अन्तर्गत समूह १ को सोमवारबो आफ्नो अन्तिम खेलमा अपराजित रहँदै भारत सेमिफाईनलमा पुगेको हो।

२०६ रनको लक्ष्य पाएको अस्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाई १८१ रन मात्रै बनाएको थियो। सेमिफाइनलमा प्रवेश गर्ने भारत तेस्रो टोली हो। समूह २ बाट दक्षिण अफ्रिका विजेता र इंग्ल्यान्ड उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरिसकेका छन्।

अब भारतले सेमिफाइनलमा इंग्ल्यान्डको सामना गर्नेछ। अस्ट्रेलियाको सेमिफाईनल यात्रा भने मंगलबार बिहान टुङ्गो लाग्नेछ। अफगानिस्तान र बंगलादेशबिचको खेलले समूहबाट सेमिफाइनल पुग्ने दोस्रो टोलीको टुङ्गो लाग्नेछ । आफगानिस्तानले बंगलादेशलाई हराए टोली अस्ट्रेलियालाई उछिन्दै अन्तिम चारमा प्रवेश गर्नेछ।

सोमबारको खेलमा अस्ट्रेलियाका लागि ट्राभिस हेडले ४३ बलमा ९ चौका र ४ छक्कासहित सर्वाधिक ७६ रन बनाएका थिए। कप्तान मिचेल मार्सले २८ बलमा ३ चौका र २ छक्कासहित ३७ रन बनाए। मार्स र हेड मिलेर ४८ बलमा ८१ रनको साझेदारी गरे।

ग्लेन म्याक्सवेलले २ चौका र १ छक्कासहित १२ बलमा २० रन र टिम डेभिडले ११ बलमा १५ रन बनाए।

यता भारतका लागि अर्शदीप सिंहले ४ ओभरमा बलिङ गर्दै ३७ रन खर्चेर ३ विकेट लिए भने कुलदीप यादवले २, जसप्रित बुमराह र अक्षर पटेलले १–१ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २०५ रन बनाएको थियो। जसमा कप्तान रोहित शर्माले शानदार ब्याटिङ गरे। उनले ४१ बलमा ७ चौका र ८ छक्कासहित ९२ रन जोडे। उनी मिचेल स्टार्कको बलमा बोल्ड भए।

यसअघि चर्चित ब्याट्सम्यान विराट कोहली भने शून्य रनमै पभिलियन फर्किए। त्यसपछि रोहितले ऋषभ पन्तसँग मिलेर ८७ रनको साझेदारी गरे। पन्त १५ रनमा आउट भए। त्यसपछि रोहितले सूर्यकुमार यादवसँग ३४ रनको साझेदारी गरे। यादवले १६ बलमा ३१ रन बनाउँदै स्टार्ककै शिकार बने । उनले ३ चौका र २ छक्का प्रहार गरे।

शिवम दुवेले २२ बलमा २ चौका र १ छक्कासहित २८ रन बनाए भने हार्दिक पाण्ड्या १७ बलमा१ चौका र २ छक्कासहित २७ रन बनाएर नटआउट रहे। अस्ट्रेलियाका लागि मिचेल स्टार्क र मार्कस स्टोइनिसले २÷२ विकेट र जोस हेजलवुडले एक विकेट लिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट