डिसिप्लिन इन्चार्जको कुटपिटबाट एक विद्यार्थी अस्पताल भर्ना, १ दर्जन विद्यार्थीलाई ज्वरो

दमक– झापाको एउटा सामुदायिक विद्यालयका कर्मचारीको कुटपिटका कारण एक जना बालकलाई अस्पताल भर्ना गर्नु परेको छ। १२/१३ जना विद्यार्थी घरमै निस्लोट भएर सुतेका छन्।

बुद्धशान्ति गाउँपालिका– स्थित बुद्ध आदर्श माध्यमिक विद्यालयकाका कर्मचारी विवेश भण्डारीको कुटपिटका कारण कक्षा ७ मा अध्ययन गर्ने एक विद्यार्थी अहिले बुधबारे सिटी हस्पिटलमा उपचाररत् छन्।

आइतबार दिउँसो कुटाइ खाएपछि १२/१३ जना विद्यार्थी घरमा गएर अचानक सुतेको थिए। उनिहरुलाई ज्वरो आएको थियो। यो देखेपछि अभिभावकले सोधीखोजी गर्दा भण्डारीले निर्घात कुटपिट गरेको खुलेको थियो।

भण्डारी विद्यालयको खेलकुद तथा अनुशासन कायम राख्ने कर्मचारी (डिसिप्लिन इन्चार्ज) हुन। उनलाई विद्यालय व्यवस्थापन समितिले निजी स्रोतमा नियुक्त गरेको हो। कुटाइ खाने विद्यार्थीका अनुसार भण्डारीले कक्षा ७ का १५ जना विद्यार्थीलाई पानीको पाईपले मरणासन्न हुनेगरी कुटपिट गरेका हुन।

कक्षामा होहल्ला भएपछि आवेशमा आएर भण्डारीले विद्यार्थीमाथि पशुलाई झै कुटेको भन्दै अभिभावकले गुनासो गरेका छन्। कुटाइ खाने विद्यार्थीकी आमा लीला विश्वकर्माले विद्यार्थीमाथि यसरी कुटपिट गर्ने भण्डारीलाई कारबाहीको माग गरेकी छन्। उनले भनिन्–‘मेरो बच्चाले २५ पाइप खाएको रहेछ।’

विद्यार्थी कुटने डिसिप्लिन इन्चार्ज अहिले सम्पर्कविहीन भएका छन्। उनको मोबाइल फोन अफ छ। भण्डारीको घरमा सम्पर्क गर्दा उनी घरमा पनि नरहेको विद्यालयका प्रधानाध्यापक कृष्णराज भण्डारीले बताए।

विद्यार्थीका अभिभावकले भण्डारी विरुद्ध इलाका प्रहरी कार्यालय, बुधबारेमा कानुनी कारबाहीका लागि सुचना र दबाब दिएका छ। प्रहरीले छलफल बोलाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट