सुन तस्करीका आरोपितलाई ‘छुटाई दिन्छौ’ भन्दै ८ लाख असुल्ने रास्वपाका कार्यककर्ता पक्राउ

काठमाडौं– ६० किलो सुन तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परेका ब्यक्तिलाई छुटाइदिने आश्वासन दिएर परिवारसँग पैसा असुली गर्ने पूर्व डिएसपी कृष्णप्रसाद शर्मा र बैंकका पूर्व कर्मचारी झविन्द्र खत्री पक्राउ परेका छन्।

पेवेल मनि एक्सचेन्ज प्राइभेट लिमिटेडका सञ्चालक तथा कर्मचारीका आफन्तसँग पैसा लिएको खुलेपछि नेपाल प्रहरीको केन्द्रीय अनुशन्धान ब्युरो (सीआइबी) ले उनिहरुलाई पक्राउ गरेको हो।

गत वर्ष विमानस्थल हुँदै वाहिरिएको ६० केजी सुन तस्करी प्रकरण अनुसन्धान गरिरहेको सीआईबीले सोही प्रकरणमा मुद्दा मिलाइदिने भन्दै आरोपितको आफन्तसँग पैसा उठाउन गएको पाइएपछि उनिहरुलाई पक्राउ गरिएको जनाएको छ।

पेवेल मनि एक्सचेन्ज प्रालि र सजिलो पे प्रालिमार्फत् ६० किलो सुन अवैध रूपमा नेपाल भित्र्याउने गिरोहले झण्डै २ अर्व रुपियाँ पैसा पठाएको देखिएपछि सीआईबीले ती दुवै मनि एक्सचेन्ज प्रालिका सञ्चालक तथा कर्मचारी गरी ८ जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा पेवेल नेपालका अध्यक्ष भिमप्रसाद तिमल्सिना, सञ्चालक सुरज शमशेर जबरा, प्रज्वल आचार्य, सजिलो पेका अध्यक्ष सुनिल जाकिबन्जा लगायत छन्।

सीआईबी स्रोतका अनुसार शर्मा र खत्रीले ‘मुद्दा मिलाइ दिन्छु’ भन्दै पेवेल नेपालका कार्यकारी अधिकृत प्रज्वल आचार्यसहितकासँग साढे ८ लाख रुपैयाँ लिएका थिए। सोही सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको सीआइबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले जानकारी दिएका छन्।

उनिहरु पक्राउ नै नपरेका व्यक्तिलाई सीआइबीमा सेटिङ मिलाएर मुद्दा मिलाइदिने भन्दै डिल गर्न गएका थिए। पूर्वडिएसपी शर्मा सेवामा रहँदा पनि विवादास्पद छविका प्रहरी अधिकृत हुन्। भारतबाट पेसेवर अपराधीलाई नेपाल बोलाउने र उनीहरूबाट बिभिन्न व्यक्तिलाई फोनमार्फत् धम्की दिन लगाएर रकम असुल गर्ने गरेको आरोप लाग्ने गरेको थियो।

तराईका जिल्लामा रहेका विभिन्न उद्योग तथा कलकारखानामा बम राख्न लगाएर पनि उनले असुली गरेको आरोप थियो। अपराधिक समुहसँग मिलेर असुली गरेको आरोपमा कारवाहीमा समेत परेका शर्मा पछिल्लो समय रवि लामिछानेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीमा संलग्न छन्।

अवकाशपछि पनि अवैध गतिविधिमा संलग्न रहेको खुलेको सीआईबीका अधिकारीहरू बताउँछन्। उनीहरूले अन्य मुद्दा समेत मिलाइदिने भन्दै पैसा उठाउने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

६० केजी सुन तस्करणी प्रकरणमा अनुशन्धान गरिरहेको सीआईबीले पहिलो चरणमा गत वर्ष २९ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। दोस्रो चरणमा २० जनालाई थुनामा राखेर अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट