युरोकपका सर्वाधिक गोलकर्ता रोनाल्डोले सर्वाधिक एसिस्ट गर्ने खेलाडीको रेकर्ड पनि बनाए

काठमाण्डौं– युरोकप फूटबल प्रतियोगितामा सर्वाधिक गोलकर्ताको रेकर्ड बनाएका पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले इतिहासमै सर्वाधिक एसिस्ट (गोलका लागि अन्तिम सहयोग) गर्ने खेलाडीका रुपमा पनि आफनो नाम दर्ज गरेका छन्।

जर्मनीमा जारी युरोकपअन्तर्गत शनिवार राति टर्कीविरुद्धको भएको खेलमा १ एसिस्ट गरेसँगै रोनाल्डोको नाममा ८ एसिस्ट भएको छ। रोनाल्डोको पासमा ब्रुनो फर्नान्डेसले खेलको ५५औं मिनेटमा पोर्चुगलका लागि तेस्रो गोल गरेसँगै उनले आफनो नाममा नयाँ कीर्तिमान थपेका हुन।

युरोकपमा सर्वाधिक गोलको कीर्तिमान पनि रोनाल्डोकै नाममा छ। उनले १४ गोल गरेका छन्। शनिवार राति डर्टमुन्डमा भएको खेलमा टर्कीमाथि ३–० गोल अन्तरको सहज जीत निकालेसँगै पोर्चुगल समूह विजेता बन्दै दोस्रो चरणमा पुगिसकेको छ।

लगातार २ खेलमा जीत निकालेपछि पोर्चुगल अन्तिम १६ मा पुगेको हो। पोर्चुगलले पहिलो खेलमा चेक गणतन्त्रविरुद्ध २–१ गोल अन्तरको संघर्षपूर्ण जीत निकालेको थियो। दुई खेलको जीतसँगै पोर्चुगल ६ अंक जोडेर एक खेलअगाडि नै समूह ‘एफ’को विजेता बनेको हो।

नकआउट चरणमा पुग्न सफल पोर्चुगलको जीतमा बर्नार्डो सिल्भा र ब्रुनो फर्नान्डेसले १–१ गोल गरेका थिए भने पोर्चुगलले १ गोल भने उपहार पाएको थियो। टर्कीका डिफेन्डर समेट अक्यादिनले खेलको २८ औँ मिनेटमा आत्मघाती गोल गरेका थिए।

सिल्भा खेलको २१औँ मिनेटमा गोल गरे। समूह ‘एफ’कै खेलमा शनिबार साँझ जर्जिया र चेक गणतन्त्रले बराबरी खेलेपछि ‘हेड टू हेड’का आधारमा पोर्चुगल समूह विजेता बनेको हो। यो समूहमा पोर्चुगलको ६ तथा टर्कीको ३ अंक छ भने चेक गणतन्त्र र जर्जियाको १–१ अंक मात्र छ। टर्की, चेक गणतन्त्र र जर्जियाको अन्तिम १६ मा पुग्ने सम्भावना भने बाँकी नै छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट