विश्वकप खेलेर किन स्वदेश फर्किएनन् सन्दीप लामिछाने ?

काठमाण्डौं– नेपाली क्रिकेट टिम आइसीसी टी–२० विश्वकप क्रिकेट खेलेर स्वदेश फिर्ता भएको छ। एउटा समूह बुधबार राति १ बजे र अर्को समूह बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

बिजिनेस क्लासको हवाइ टिकट नमिलेका कारण टोली दुई समूहमा विभाजित भएर नेपाल आइपुगेको हो। तर, चर्चित स्पिनर सन्दीप लामिछाने भने स्वदेश फर्किएका छैनन्।

नेपाली क्रिकेट टिम काठमाडौं उत्रिँदै गर्दा क्रिकेटर सन्दीप लामिछाने भने देखिएनन्। उनी पहिला खेल्न जाँदा पनि एक्लै गएको र अहिले आउँदा पनि एक्लै आउने छन्। अमेरिकाले सन्दीपलाई भिसा नदिए पछि उनी वेस्टइन्डिजमा भएका समूह चरणका खेलका लागि मात्रै गएका थिए। टोलीका अन्य सदस्य भने अमेरिका हुँदै आएका हुन।

सन्दीप क्यानडाको बाटो हुँदै गएका हुन्। उनी फर्किदा पनि त्यही बाटो भएर आउने छन्। सन्दीपको प्रक्रिया फरक भएकाले उनी टिमसँग काठमाडौं नआएको जनाईएको छ। सन्दीप शनिबार क्यानडाको रुटबाट काठमाडौं आइपुग्ने जनाईएको छ।

सन्दीपले दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको खेलमा खेलेका थिए। दुवै खेलमा गरेर उनले २ विकेट लिए। उनको २ विकेटसँगै सन्दीपले टी २० क्रिकेटमा १०० विकेट पनि पूरा गरेका छन् । सन्दीप सर्वाधिक थोरै ५४ खेलमा १०० विकेट लिने विश्वको दोस्रो खेलाडी बनेका छन्। उनी भन्दा अगाडि अफगानिस्तानका राशिद खानले ५३ खेलमा १०० विकेट पूरा गरेका थिए।

बलात्कार मुद्दामा काठमाडौंँ जिल्ला अदालतमा दोषी ठहर सन्दीप उच्च अदालत पाटनबाट सफाइ पाएपछि विश्वकप खेल्ने पहल भएको थियो। तर, अमेरिकाले पटकपटक उनको भिसा रिजेक्ट गरेपछि उनी रातारात क्यानडा हुँदै विश्वकपको आयोजक राष्ट्र वेष्ट इन्डिज पुगेका थिए।

अमेरिकामा भएका नेदरल्याण्ड र श्रीलंकासँगको खेल उनले गुमाए। तर, वेष्ट इन्डिजमा भने दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध आफ्नो उत्कृष्ट खेल प्रर्दशन गरे। तर, १० वर्षपछि आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेटमा कमब्याक गरेको नेपाल जितविहीन हुँदै समूह चरणबाटै बाहिरियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट