पर्साका तत्कालीन मालपोत अधिकृतसहित तीन जनालाई राजश्व चुहावटको कसुरमा ८ वर्ष कैद

काठमाण्डौं– राजश्व चुहावटको अभियोग पुष्टि गर्दै विशेष अदालतले मालपोत कार्यालय, पर्साका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रसहित तीन जनालाई ८ वर्षका दरले कैद सजाय तोकेको छ।

विशेष अदालतको अध्यक्ष टेकनारायण कुंवर, सदस्य तेजनारायण सिंह राई र रामबहादुर थापाको संयुक्त इजलासले बुधबार उनीहरुलाई सजाय निर्धारण गरेको हो।

अदालतले मिश्रलाई ८ वर्ष कैद, २ करोड ५० लाख २३ हजार ९८१ रुपैयाँ जरिवाना र एक करोड २५ लाख ११ हजार ९९० रुपैयाँ बिगो अशुल गर्न आदेश छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ करोड ९ लाख ३१ हजार ६४७ बिगो कायम गर्दै त्यसको दोब्बर रकम जरिवाना गर्न मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

सोही मालपोत कार्यालयका तत्कालीन अधिकृत भूपबहादुर बोगटीलाई पनि ८ वर्ष कैद र मिश्रलाई जति नै बिगो तथा जरीवाना भराउने फैसला भएको छ। अधिकृत कमोद तिवारीविरुद्ध एक करोड ४१ लाख ४७ हजार १७१ भन्दा दोब्बर जरिवानासहित मागदाबी लिई भ्रष्टाचार मुद्दा दायर भएको थियो। उनलाई पनि ८ वर्ष कैद तथा बिगो र जरिवाना पनि मिश्र र बोगटीलाई जति नै तोकिएको छ।

अरु तीन जनालाई पनि विशेष अदालतले दोषी ठहर गर्दै सजाय निर्धारण गरेको छ। तत्कालीन मालपोत अधिकृत गोपाल ढुंगानाविरुद्ध ३५ लाख ४५ हजार ९५० रुपैयाँ बिगो कायम गर्दै त्यसको दोब्बर जरिवाना माग गरिएको थियो। उनलाई ४ वर्ष कैद, ७० लाख ९१ हजार ९ सय रुपैयाँ जरिवाना र ३५ लाख ४५ हजार ९५० रुपैयाँ बिगो भराउने फैसला भएको छ।

तत्कालीन अधिकृत पदमप्रसाद अर्यालविरुद्ध १६ लाख ८१ हजार ६०० रुपैयाँ बिगो र त्यसको दोब्बर जरिवाना माग गरिएको थियो। विशेष अदालतले उनलाई २ वर्ष कैद, ३३ लाख ६३ हजार २ सय रुपैयाँ जरिवाना र १६ लाख ८१ हजार ६ सय रुपैयाँ बिगो भराउने फैसला गरेको छ।

यही इजलासले २८ जेठमा उनिहरुलाई दोषी ठहर गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट