अन्तर्राष्ट्रिय अलराउन्डर वरीयतामा ऐरीले भारतीय क्रिकेटर हार्दिक पाण्ड्यालाई पनि पछि छोडे

काठमाण्डौं– आईसीसी टी–२० अन्तर्राष्ट्रिय अलराउन्डरतर्फको वरीयतामा नेपालका दीपेन्द्र सिंह ऐरीले भारतीय क्रिकेटर हार्दिक पाण्ड्यालाई समेट पछि छोडेका छन्। ऐरीले एकसाथ तीन स्थान सुधार गर्दै छैठौं स्थान सुरक्षित गरेका छन्।

यसअघिको वरीयतामा उनी नवौँ स्थानमा थिए। आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा उनी छैठौँ स्थानमा छन्। यसपटकको वरीयतामा दीपेन्द्रले पाण्ड्यासहित इंग्ल्यान्डका लाइम लिभिङस्टोन र इंग्ल्यान्डकै मोइन अलीलाई पनि पछि पारेका छन्।

नेपालकै कुशल मल्लको वरीयता भने एक स्थान खस्किएर ३६औँ स्थानमा पुगेको छ। कप्तान रोहित पौडेलले एकैपटकमा ११ स्थान सुधार गर्दै ६६औँ स्थानमाबाट ५५औँ स्थानमा पुगेका छन्। गुल्सन झाको वरीयता ६ स्थान तल झर्दा कुशल भुर्तेल ४३ स्थान अगाडि आइपुगेका छन्। गुल्सन ६८ र भुर्तेल ७०औँ स्थानमा छन्। करण केसीको वरीयता ६ स्थान खस्किएर ७५औँ स्थानमा पुगेका छन्।

विश्व वरीयतामा अस्ट्रेलियाका मार्कस स्टोनिसले पहिलो स्थान ओगटेका छन्। यसअघि पहिलो स्थानमा रहेका अफगानिस्तानका मोहम्मद नाबी तीन स्थान तल झर्दा श्रीलंकाका वानिन्दु हसराङ्गा दोस्रो र बंगलादेशका साकिव अल हसन तेस्रो स्थानमा छन्।

जिम्बावेका सिकन्दर राजा एक स्थान तल झर्दा दीपेन्द्रभन्दा एकस्थान माथि पाँचौँ वरीयतामा छन्। आईसीसीले पछिल्लो खेलमा गरेको प्रदर्शनका आधारमा वरीयता निर्धारण गर्छ। विश्वकपमा समूह चरणको अन्तिम खेलमा बंगलादेशविरुद्ध ३.३ ओभर बलिङ गरेका दीपेन्द्रले २२ रन खर्चिएर २ विकेट लिएका थिए भने ३१ बलमा २५ रन बटुलेका थिए। त्यसअघि दक्षिणअफ्रिकाविरुद्ध ४ ओभरमा २१ रन खर्चिएर ३ विकेट लिएका थिए।

त्यो खेलमा उनले ६ रन मात्रै जोडे। नेदरल्यान्ड्सविरुद्ध १ रनमै आउट भएका उनले २ ओभरमा ६ रन खर्चिएर १ विकेट लिएका थिए। श्रीलंकाविरुद्धको खेल भने वर्षाका कारण रद्द भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट