किर्ते विवरण बनाई भत्ता दिने रतुवामाइका वडाध्यक्ष लुइँटेलसहित ५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाण्डौं– किर्ते विवरण तयार गरी उमेर नपुगेका व्यक्तिहरूलाई सामाजिक सुरक्षा भत्ता बाँडेको आरोपमा मोरङको रतुवामाइ नगरपालिका–६ का वडाध्यक्ष तुलाराम लुइँटेलसहित ५ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शुक्रबार वडाध्यक्ष लुइँटेलसहित तत्कालीन वडासचिव कल्पना बास्कोटा, इलाका प्रशासन कार्यालय रंगेलीका तत्कालीन प्रशासकीय अधिकृत सुनिल पौडेल र नासु रमेश कोइरालाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

यसैगरी, स्थानीय मेगदीप पोखरेल, तारा देवी पोखरेल र भक्त कुमारी लुँइटेलविरू पनि मुद्दा दायर भएको छ। वडाले विवरण कीर्ते गरी सामाजिक सुरक्षा भत्ता वितरण गरेको अख्तियारमा उजुरी परेपछि अनुसन्धानका क्रममा वडाध्यक्षको मिलेमतोमा उमेर नै नपुगेका ब्यक्तिलाई लाभग्राहीको सूचीमा राखिएको पाइएको अख्तियार प्रवक्ता नरहरी घिमिरेले जानकारी दिए।

उमेर बढाउन नागरिकताको प्रतिलिपि लिनका लागि वडाले जन्ममिति परिवर्तन गरेर सिफारिस समेत गरेको अख्तियारले भेटेको थियो। वडाले उमेर बढाइएको नागरिकताको प्रतिलिपि दिन लेखेको सिफारिस इलाका प्रशासन कार्यालयले विवरणहरू जाँच नै नगरी प्रतिलिपि दिएको भेटिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट