अर्जेन्टिनाको संसदले कर्मचारी संख्या र पेन्सन कटौती गर्ने प्याकेज पारित गरेपछि युद्द मैदान वन्यो राजधानी

काठमाण्डौं– अर्जेन्टिनाको संसदले कर्मचारीको संख्या र पेन्सन कटौती गर्ने प्याकेज पारित गरेपछि त्यहाँ देशभरी नै हिंसात्मक झडप भएको छ। संसद्ले राष्ट्रपति जेभियर माइलेको विवादास्पद आर्थिक सुधार प्याकेजलाई अनुमोदन गरेको हो।

संसद् भवनबाहिर प्रदर्शनकारी र प्रहरीबीच हिंसात्मक झडप भएको जनाईएको छ। राजधानी ब्युनस आयर्समा लाखौँ प्रदर्शनकारीले प्रहरीमाथि पेट्रोल बम र ढुङ्गा हानेका छन् भने कारहरूमा आगो लगाइदिएका छन्।

प्रहरीले प्रदर्शनकारीलाई रबरका गोली, अश्रृग्यास र लाठी प्रहार गर्दा सयौँ जना घाइते भएका छन्। पाँच जना सांसद र २० जना प्रहरी घाईते भएपछि अस्पताल भर्ना गरिएको छ। अर्जेन्टिनी सञ्चारमाध्यमले राजधानी ब्युनस आयर्स युद्ध मैदान बनेको उल्लेख गरेका छन्।

राष्ट्रपति माइलेको सुधार प्याकेजमा आर्थिक आपत्काल घोषणा गर्ने, पेन्सन कटौती गर्ने र श्रम अधिकारलाई कम गर्ने विषय समावेश छन्। राष्ट्रपति माइलेले सरकारी तलब भत्ता खाने २५ हजार जना कर्मचारीलाई हटाइसकेका छन्।

अब उनले ५० हजार जना सरकारी कर्मचारी कटौतीको तयारी गरेका छन्। मन्त्रालयको संख्या घटाइएको छ भने सरकारी कार्यालयको संख्या ५० प्रतिशत कम गरिएको जनाईएको छ। दक्षिणपन्थी अर्थशास्त्री माइली गहिरो आर्थिक सङ्कटको बीचमा निर्वाचित भएका थिए। आर्थिक सुधारका लागि उनी सङ्घर्षरत छन्।

अहिले अर्जेन्टिनामा तीन सय प्रतिशत मूल्यवृद्धि छ भने आधाभन्दा धेरै अर्जेन्टिनी गरिबीमा बाँचिरहेका छन्। प्रदर्शनकारीले अहिले आर्थिक सुधारको नाममा आएको प्याकेजले देशलाई एक सय वर्ष पछाडि धकेल्ने दाबी गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट