दिल्लीमा ७ जना शिशुको मृत्यु हुने गरी आगलागी भएको अस्पताल अवैधानिक, छैन सञ्चालन अनुमती

काठमाडौं– भारतको राजधानी दिल्लीस्थित विवेक विहार क्षेत्र रहेको एक अस्पतालमा शनिवार भएको आगलागीमा परी ७ जना नवजात शिशुको मृत्यु भयो। आगलागीपछि उक्त अस्पतालको स्वामित्व भएका व्यक्ति र त्यति बेला काममा खटिएका चिकित्सकहरुलाई प्रहरीले पक्राउ गर्यो।

उक्त घटनाको अनुसन्धानमा अस्पतालमा आगो नियन्त्रण गर्ने साधन र आपतकालिन द्वारसमेत नभएको पाईएको छ। अझ आश्चर्य लाग्दो विषय भनेको उक्त अस्पताल अनुमतिबिनै अवैध रूपमा सञ्चालनमा रहेको पाईएको छ। उक्त अस्पतालको ‘नो अब्जेक्शन सर्टिफिकेट’ अर्थात् सञ्चालन गर्न पाउने अनुमतिपत्र ३१ मार्चमै सकिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उक्त अस्पताललाई पहिला पाँचवटा मात्र शैय्या राख्न अनुमति दिइएको थियो। तर, १० वटा राखेको पाइएको छ। आगलागी हुँदा उक्त अस्पतालमा भर्खर जन्मिएका १२ शिशु थिए। पाँच जीवित शिशुलाई उपचारका लागि अर्को अस्पतालमा राखिएको छ।

अस्पतालमा भएको भीषण आगलागीपछि स्थानीयवासीहरू त्रसित र आक्रोशित छन्। आगलागी हुँदा अस्पतालमा कार्यरत चिकित्सक सघन उपचार आवश्यक हुने नवजातशिशुको उपचार गर्न योग्य नभएको प्रहरीले जनाएको छ।

दिल्ली सरकारले उक्त घटनाको जाँच गर्न दिल्लीका मजिस्ट्रेटलाई निर्देशन दिएको छ। दिल्लीको अग्निशमन विभागका निर्देशक अतुल गर्गका अनुसार अक्सिजन सिलिन्डरमा विस्फोटन भएपछि अस्पतालमा आगो फैलिएको थियो।

स्थानीय सञ्चारमाध्यमका अनुसार उक्त स्थानीय बासिन्दाहरूले उक्त अस्पतालमा सन्दिग्ध गतिविधि हुने गरेको बताएपछि प्रहरीले त्यहाँ अवैध रूपमा अक्सिजन भर्ने गिरोह सक्रिय भएको आशङ्कामा पनि अनुसन्धान थालेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट