रविको उदयले घाटा कस्लाई भयो ?
रविको राजनीतिक उदय आमरुपमा सोचिएभन्दा चाँडो र ठानिएभन्दा ब्यापकरुपमा भयो। यो अप्रत्याशित उदयले घाटा कस्लाई भयो?
प्रचण्डलाई भयो? भएन। रवि त प्रचण्डलाई फापे। रवि यो शक्तिसहित संसदमा नआइदिएको भए सायद प्रचण्ड प्रधानमन्त्री बन्न र टिकिरहन सहज हुने थिएन । कम्तिमा एउटा शीर्ष नेतालाई रोक्ने भन्दै चुनावमा चितवन हानिए रवि। रविको रवाफ यस्तो हुण्डरी बन्यो कि प्रचण्ड गोरखा हानिन बाध्य भए। प्रचण्डलाई चितवन छाड्न बाध्य पार्ने मध्यका एक फ्याक्टर रविले चुनाव लगत्तै प्रचण्ड खेद्ने च्याप्टर क्लोज गरिदिए। बरु प्रचण्डसँग यति क्लोज भइदिएकी प्रचण्डको टेको रवि र रविको अभिभावक प्रचण्ड बनिरहेका छन्।
केपी ओलीलाई घाटा भयो? त्यो झन् भएन। प्रचण्ड–रवि बीचको पिरतीका लमी ओली नै हुन्। ओलीका राजनीतिक पत्ता झैँ देखिएका छन् रवि। अन्यत्र रवाफपूर्ण भाव–भंगिमामा देखिने रवि ओलीको आसपास रहँदा नतमस्तक देखिने गरेका छन्। रविसहितको साथमा ओली प्रधानमन्त्री बन्ने प्रतीक्षामा छन्।
देउवालाई भयो त? भएन। रवि भएकै कारण देउवा लोकतान्त्रिक मोर्चा बनाउन सकिने दाउमा छन्। रविको उदयले देउवालाई पार्टीभित्र दबाब कम सहजता बढी भएको छ। किन भन्ने कुरा अर्को अनुच्छेदमा प्रष्ट हुनेछ।
त्यसो भए रवि खाशमा कस्का लागि खतरा, कस्का लागि तगरा र कस्का लागि बाधक भए? उनले कस्को स्थान लिए? यो बिचारणीय छ।
विद्यार्थी संगठनको सामान्य नेता र क्याम्पसको सभापति मात्र रहेका गगनकुमार थापालाई आजभन्दा २५ बर्ष पहिला नै नेपाली राजनीतिको केन्द्रीय पात्रका रुपमा चित्रण गरियो। अहिले जस्तो य्युट्युवर थिएनन्। य्युट्युवरको बिगविगी हुन्थ्यो भने थुप्रै गगनहरु भाइरल हुने थिए। मूलधारका मिडियाको एकल वर्चस्व रहेको त्यो बेला केही सम्पादकका प्रिय भाइ गगन सगरसरी संचारमाध्यममा छाए। ओझपूर्ण बोली, वाक्पटुता र ट्याक्टिकल खुबीका कारण उनीबारे बनाइएको चित्रण आमरुपमा स्थापित भयो। यता गयो गगन, उता गयो गगन। यत्रतत्र सर्वत्र गगन ! गिरिजा कालमै गिरिजासँग आँखा ‘जुधाएर’ सभासद बन्न सफल भएका गगनले राजनीतिलाई सोझै नापे, र घोषणा गरे– ५४ बर्षसम्म राजनीति गर्ने हो, ५५ टेकेको दिन अब पुग्यो भनेर आफ्नो ब्यक्तिगत दुनियाँ (पारिवारिक/अध्ययन/ब्यबसाय वा अरु केही) मा लाग्ने हो।
राजनीति नापेजस्तो राजाका लागि भएन, राजासहितको अधिकार लिएका तत्कालीन प्रधानमन्त्री गिरिजाका लागि त भएन। राजाले दरबार छोडे, गिरिजा राष्ट्रपतिबाट हात झिक्न बाध्य भए। गगनका लागि किन हुन्थ्यो ? उमेर ५५ पुग्न लागिसक्यो, न पार्टी नेतृत्व पाउने आश छ न देशको नेतृत्व पाउने लक्षण। भाबी प्रधानमन्त्रीका रुपमा आफूलाई चित्रण गरेका गगनलाई कांग्रेसी सांसद त्यो पनि आफ्नै गुटकाले पताइदिएनन्। सातो जाने गरी संसदीय दलको निर्वाचनमा पछारिए। गगनका लागि राजनीति बक्र देखिएको र उनले पार्टीइतरको साथ गुमाउँदै गएको गत बर्षदेखि हो। खाशमा गगनको राजनीति पार्टी नेतृत्वको आलोचना गर्ने र पार्टीबाहिरको क्रेजको बलमा पार्टीभित्र हस्तक्षेप गर्ने क्रमबाट चलिरहेको थियो। त्यो क्रमभंग भएको छ।
पहिले परिस्थिति अचम्मको थियो। रवि र गगन दुबै मिडियामा काम गर्थे। दाइभाइ भन्थे। रवि परदेशिए, गगन राजनीतिमा चम्किए। रवि देश फर्कदासम्म गगनले राजनीतिमा कसैले हल्लाउन नसक्ने झैँ गरी जरा गाडिसकेका थिए। रबी देश फर्केर मिडियामा रम्दै थिए। दुई भाइ भेट हुँदा दाइ पनि राजनीतिमा आउनुपर्यो भन्दै गगन रबीलाई राजनीतिक मोह जगाउँथे। अरुका नाकका डाँडी भाँच्न तम्सिने रवि गगनको राजनीतिक उचाइ बढाउने सन्दर्भ भेटेसम्म मालिसै गरिरहेका हुन्थे।
मिडियबाट रविले लोकप्रियता हाशिल गरेका थिए तर राजनीतिक अनुभव थिएन। रवि गगनकै अगुवाइमा बैकल्पिक शक्ति बनाउन चाहन्थे। गगन रविलाई काँग्रेसमा भित्र्याएर आफ्नो पकड फराक गराउन चाहन्थे। तर डिल नमिल्दा दुबै एउटै पार्टीमा रहने संयोग मिलेन। भबिश्यमा भेट हुने सम्भाबना जीबित राख्दै रवि र गगन बेग्लाबेग्लै हिसाबले चुनाबमा गए। रविले गगनका बिरुद्ध उम्मेदवार खडा गरेनन्, गगनले रवि बिरुद्ध बक्तब्यबाजी गरेनन्।
चुनाबी नतिजा र त्यसपछिका घटनाक्रम गगन–रवि सम्बन्धका लागि सहज भएनन्। दल खोलेको ४ महिनामै देशको चौथो शक्ति बनाउन सफल भए रवि। रविले ४ महिनामा जम्मा गरेका जति सांसद गगनले आफ्नो कांग्रेसमा आफ्नो पक्षमा जम्मा गर्न सकेनन्।
यत्र तत्र सर्वत्र रवि गुन्जिन थाले। मूलधारले साथ नदिए पनि सामाजिक संजालका कारण रबीको रफ्तार बढ्यो। केही महिना अघिसम्मका सर्वेक्षणमा भाबी प्रधानमन्त्रीका रुपमा युवाहरुको सर्वाधिक रोजाइमा हुने गगन युवापंक्तिको मुखबाट बिलप भए। अढाइ दशकसम्म मूलधारका मिडियाको लाडप्यार पाएका गगन मूलधारकै मिडियाबाट समेत हराउन थाले। बालेनहरु सम्पादकको रोजाइमा पर्न थाले। केही पत्रकार सम्पादक समेतको समन्वयमा बालेन दल गठनको तयारीमा छन्। गगनको अर्को भरोसा शक्तिकेन्द्रको साथ थियो। भरपर्दो सूचनाका स्रोतका रुपमा उहिल्यै अमेरिकाले पत्याएको रिपोर्ट बाहिरिएकै हो। अमेरिकी दुतावास समेतको समन्वयमा हार्वड विश्वविद्यालयको सर्टटर्म कोर्सबाट गगन दीक्षित भएका हुन्। कुटनीतिक नियोग र दातृ निकायसँग गगनको एक्सपोजर र एक्स्पर्टिजम बढाउन स्वर्णिम वाग्लेले साथ दिएका थिए।
हुँदाहुँदा स्वर्णिमसमेतले गगन छाडेर रवि रोजे। शक्तिकेन्द्रका लागि पनि भरपर्दो सूचनाको स्रोतभन्दा आफ्नो देशका लागि परिआउँदा बलिदान गर्न तयार भनि वाचा बन्धन गरिसकेको ब्यक्ति शक्तिमा रहँदा बेफाइदा हुने कुरा भएन। परिस्थिति यस्तो बन्यो कि नयाँ नेतृत्व नै खोजिएको हो भने गगन पनि पुरानो भइसके भन्ने भाष्य तयार भयो। नयाँलाई नेतृत्व भन्ने गगनको गगनभेदी नारा गगनकै लागि भारी बन्न थाल्यो। देउवाले सोझो जवाफ फर्काउन पाए– नयाँ, नयाँ। नयाँ चाहिए गए भइहाल्यो, छेक्या छ त? स्वर्णिम गयो त!
राजनीतिबाट बाहरुको बिदाइ गर्ने हुंकारसहित राजनीतिमा उदायका रवि केही समयमै बाहरुका श्रवणकुमार बने। बिदाइ त उनले ठूला पार्टीको बीचको पुस्ताको गरिदिए। गगन, रामकुमारी, लेखनाथहरु अब लोकको मुखारबिन्दमा छैनन्। लोकको मुखमा रवि, बालेन, हर्क, दुर्गा, ज्ञानबहादुरहरु छन्। यि सबैभन्दा अघि रवि बढेका छन्। यिनको आरोह अबरोहमा धेरैको राजनीति मापन हुनेछ। गगन पछिल्लो समय त्यसै बोलिरहेका छैनन्। सहकारी त बहाना हो। राजनीतिकरुपमा सहकारीभन्दा पेचिलो मुद्दा नागरिकताको थियो। तर गगनको यो गर्जन सो बखत कहाँ थियो?