नुहाउन गएका एकै परिवारका ५ जनाको डुबेर मृत्यु, मृतकमध्ये ४ जना बालबालिका
काठमाडौं– भारतको महाराष्ट्रस्थित नासिक जिलाको इगतपुरीमा पानीमा डुवेर एकै परिवारका ५ जनाको मृत्यु भएको छ। स्थानीय भावली बाँधमा डुवेर उनीहरुको मृत्यु भएको हो।
मंगलबार दिउँसो भएको यो दुर्घटनामा मृत्यु हुने ४ जना नाबालक छन्। स्थानीय प्रहरीका अनुसार स्थानीय २४ वर्षीय हनीफ अहमद शेख आफना भतिजाहरु १५ वर्षीय अनस खान दिलदार खान, १५ वर्षीया नाजिया इमरान खान, १६ वर्षीय मिस्बाह दिलदार खान र १४ वर्षीय इकरा दिलदार खानलाई लिएर इगतपुरी स्थित भावली बाँध घुम्न गएका थिए।
यसै क्रममा उनीहरु मध्ये २ जना नुहाउन पानीमा पसे। पानी गहिरो भएका कारण उनीहरु डुब्न थाले। उनीहरुलाई बचाउ भन्दै पालैपालो गएका अन्य पनि डुब्दै गए। प्रहरी अधिकारीका अनुसार दुई जनालाई बचाउने क्रममा पालैपालो सवै पानीमा डुवेको र सवैको मृत्यु भएको हो।
घट्नाको जानकारी पाएपछि पुगेको प्रहरीले उनीहरुको खोजतलास सुरु गरेको थियो। केही समयपछि पाँचै जनाको शव निकालिएको प्रहरीले जनाएको छ। उनीहरु सववै नासिक रोडका वासिन्दा हुन। मृतक हनिफ अहमद शेख रिक्सा चालक भएको खुलेको छ।