गृहमन्त्रीले आफै उजुरी गर्न लगाएर सिरोहियालाई पक्राउ गरेको खुलासा, निवेदक रास्वपाका प्रदेश सदस्य

काठमाडौं– उपपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने आफैले उजुरी हालेर (आफनै पार्टीका नेतामार्फत) कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको खुलेको छ।

सिरोहिया विरुद्ध उजुरी गर्ने ब्यक्ति रास्वपाका प्रदेश सदस्य र पार्टी उपसभापति डिपी अर्याल मन्त्री रहेको श्रममन्त्रालयलाई सघाउने टिमका सदस्यसमेत रहेको पाईएपछि सिरोहियाको पक्राउ प्रकरणमा लामिछानेको प्रतिशोध र बदनियत देखिएको हो।

सिरोहिया नागरिकतासम्बन्धी उजुरीका आधारमा मंगलबार पक्राउ परेका हुन्। उनी विरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा सर्लाहीको हरिवन नगरपालिका हरिवनका इन्द्रजित महतोले १६ वैशाखमा उजुरी दिएका छन्। सोही उजुरीका आधारमा जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी दिएको थियो।

जाहेरीमा सिरोहियाले फरक–फरक नम्बरका नागरिकताहरु प्रयोग गरिरहेको भन्दै नागरिकता ऐन, २०६३ अनुसारको कसुरमा छानबिन गर्न माग गरिएको थियो। यता, लामिछाने स्वयम दोहोरो नागरिक्ता र राहदानी बाहक हुन। यही प्रकरणमा उनले मन्त्री तथा सांसद पद पनि गुमाउनु परेको थियो।

अहिले आएर तीनै लामिछानेले आग्रह पूर्वाग्रहपूर्वक सिरोहियालाई गिरफ्तार गरेको संकेत मिलेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बताएका छन्। कान्तिपुरले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछाने स्वयं संलग्न रहँदै आएको विषयमा शृंखलाबद्ध रिपोर्टिङ गर्दै आएको थियो।

लामिछाने भने कान्तिपुरका सवै समाचारलाई भ्रमपूर्ण, तथ्य वंग्याईएको र सत्य लुकाएको भन्दै फेसवुकमा लेख्थे। तर, मंगलबार अचानक उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई प्रहरीको जत्था लिएर कान्तिपुर मिडिया ग्रुपको भवनमा छिरे र सिरोहियालाई पक्राउ गरे।

प्रहरीले सिरोहियालाई कार्यकक्षबाटै पक्राउ गरेको हो। खासमा मिडिया हाउसमा प्रहरी प्रवेश गर्नुलाई सामान्य रुपमा लिईदैन। खोजमुलक समाचारहरुमा मिडियाले प्राय स्रोतको संरक्षण गर्छ। यो उसको धर्म हो र दायित्व पनि हो। त्यसमा मान्छे हुन सक्छ, फोटो÷भीडीओ हुन सक्छ, डकुमेन्टहरु हुन सक्छन्। अथवा अरुनै चिज वा वस्तुहरु पनि हुन सक्छन्। यस्तो कार्यालयमा गृहमन्त्रीले प्रहरी छिराएर गलत गरेको नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले वताएका छन्।

प्रहरी उच्च स्रोतका अनुसार लामिछानेले सिरोहियालाई पक्राउ गर्न सुरुमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली खटाएका थिए। ब्यूरोलाई देशभरका घटनामा अनुसन्धान गर्ने क्षेत्राधिकार भएकाले ब्यूरोमार्फत नियन्त्रणमा लिएर धनुषा पठाउने तयारी थियो।

तर, पछिल्लो समय गृहमन्त्रीको इसारामा सीआईबी प्रयोग हुन थालेको आरोप लागिरहेका बेला ब्यूरोमार्फत पक्राउ गर्दा थप विवाद निस्किन सक्ने आँकलनपछि उपत्यका अपराध अनुसन्धान कार्यालयलाई सिरोहिया पक्राउ गर्ने जिम्मेवारी दिइएको थियो।

धेरैले यसलाई सत्ताशक्तिको आडमा प्रतिशोधपूर्ण ढंगले सिरोहियाको पक्राउ गर्ने स्थिति सिर्जना गरेको रुपमा ब्याख्या गरेका छन्। छानबिन र अनुसन्धानका लागि उनलाई बोलाउन, उनीबारे थप अनुसन्धान अघि बढाउन सम्भव हुँदाहुँदै गिरफ्तारीनै गर्नु पर्ने, त्यो पनि मिडिया हाउसमा प्रहरी पसाएर तमासा गर्दै पक्राउ गर्नुले गृहमन्त्री लामिछानेको नियत माथि प्रश्न खडा भएको छ।

अर्कोतर्फ, प्रहरीमा जाहेरी परेलगत्तै सिरोहियाले आफूमाथि धरपकड हुन सक्ने भन्दै सर्वोच्च अदालतमा प्रतिषेधको रिट दायर गरेका थिए। रिटमा उनले आफू आबद्ध रहेको प्रकाशन तथा प्रशारण गृहबाट गृहमन्त्री लामिछानेको दोहोरो राहदानी तथा नागरिकताको प्रमाण पत्र लगायतका विषयमा प्रकाशित समाचारहरुका कारण आफूप्रति दुराग्रह र द्वेषपूर्ण भावना राखेर जाहेरी दर्ता गरिएको जिकिर गरेका थिए।

सर्वोच्च अदालतले २५ वैशाखमा गृह मन्त्रालयसँग सिरोहियामाथि अनुसन्धान गर्नुपर्ने कारण मागेको थियो। मन्त्रालयले हालसम्म पनि त्यसको लिखित जवाफ पेश गरिसकेको देखिएको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट