गाँजाको लतले ट्राफिक प्रहरीको ज्यान लियो, लागु औषध प्रयोगकर्ताद्वारा इँटाले हानेर हत्या

काठमाडौं– ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको लागु औषध प्रयोगकर्ताले इटाले हानेर हत्या गरेको प्रारम्भिक निस्कर्ष प्रहरीले निकालेको छ।

घिमिरे शुक्रबार अपरान्ह तारकेश्वर नगरपालिका—९, मनमैजुको निर्माणाधिन भवनको भुँईमा रगताम्ममे अवस्थामा मृत फेला परेका थिए। उनको हत्या भएको प्रारम्भिक निस्कर्षसहित अनुशन्धानका लागि प्रहरीले सचिन परियारसहित ६ जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार घिमिरे मृत फेला परेको ठाउँ लागु औषध प्रयोगकर्ताको अखडा जस्तै छ। उनी मोटरसाईकलमा त्यहाँ पुगेको र लागु औषध प्रयोगकर्तासँग विववाद भएपछि परियारसहितको समूहले उनको हत्या गरेको प्रहरीको अनुशन्धानबाट देखिएको छ।

इँटा प्रहारबाट घिमिरेको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको अनुशन्धाानमा संलग्न एक प्रहरी अधिकारीले जानकारी दिए। यो प्रकरणमा प्रहरीले शनिवार रातीसम्ममा २१ जना लागूऔषध प्रयोगकर्तालाई पक्राउ गरेको थियो। सोधपुछपछि ६ जनाको संलग्नता खुलेको ती अधिकृतले बताए।

प्रहरी जवान घिमिरे पहिले बसपार्क क्षेत्रमा कार्यरत थिए। त्यस वेला हाल पक्राउ परेका परियारसँग चिनजान भएको थियो। घिमिरेले समेत लागूऔषध गाँजा सेवन गर्ने गरेको पक्राउ परेकाले दाबी गरेका छन्। उनीहरुका बीचमा पहिला सम्वन्ध राम्रै भएपछि पछि मनमुटाव देखिएको छ।

त्यसही मनमुटावका कारण शुक्रबार पनि विवाद भएको र परियारसहितको समुहले इँटाले हानेर हत्या गरेको जिल्ला प्रहरी परिसर, काठमाडौं स्रोतले जनाएको छ। बिहीबार ड्यूटी सकेर निस्किएका उनी त्यसपछि कार्यालयमा फर्किएका थिएनन्। शुक्रबार अपराह्न उनी मृत भेटिएको प्रहरीले खबर पाएको थियो।

खोटाङको मजुवागढी गाउँपालिका–१ घर भएका घिमिरे सामाखुशीमा डेरा बस्दै आएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट