पैसाको लेनदेनमा मिल्यो अस्पतालमा सुत्केरीको मृत्यु प्रकरण, साढे १३ लाखको सहमति

जनकपुर– धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा चिकित्सकको लापर्वाहीले सुत्केरीको मृत्यु भएको भन्दै उत्पन्न विवाद पैसा लेनदेनमा मिलापत्र भएको छ। अस्पतालले मृतक परिवारलाई साढे १३ लाख रुपैयाँ दिने सहमति भएपछि समस्या समाधान भएको छ।

शनिबार राति सुत्केरी व्यथा लागेपछि धनुषा लक्ष्मीनिया गाउँपालिका–५ बनिनियाकी २७ वर्षीया अनिताकुमारी यादवलाई अस्पताल भर्ना गरिएको थियो। उनको सोमबार बिहान ९ बजे मृत्यु भएको थियो।

त्यसपछि मृतकका आफन्तले शल्यक्रियामा लापरबाही गरेको भन्दै विरोध प्रदर्शन गरेका थिए। अस्पतालको मूलगेटमा टायर बालेर प्रदर्शन गर्नुका साथै अस्पताल तोडफोड गरिएको थियो। मृतकका आफन्त वीरेन्द्र यादवका अनुसार आइतबार बिहान ११ बजे शल्यक्रिया भएको थियो। अनिताले छोरा जन्माएकी थिइन्।

त्यसपछि अवस्था बिग्रिँदै गएर सोमबार विहान उनको मृत्यु भएको यादवको भनाइ छ। शल्यक्रियामा चिकित्सक नभई सिकारुले बेहोस गरेकाले यस्तो अवस्था आएको उनले बताए। मृतक र अस्पताल प्रशासनबीच भएको वार्तामा मृतकको किरिया खर्च बापत ३ लाख ५० हजार र तीन छोराछोरीको पठनपाठनका लागि १० लाख रुपैयाँ गरी १३ लाख ५० हजार रुपैयाँ दिने सहमति भएको छ।

यसैगरी उनका श्रीमानलाई योग्यता अनुसारको जागिर दिने पनि सहमति भएको जनाईएको छ। अस्पतालका निर्देशक धर्म सुवेदीले भने उपचारमा लापरवाही नभएको दाबी गरे। तर अस्पतालमा तोडफोड हुँदा प्रहरीले सहयोग नगरेपछि बाध्य भएर वार्तामार्फत समस्या समाधान गरिएको उनको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट