बैंकका सुरक्षा गार्डको हत्या आरोपमा सशस्त्र प्रहरीका जवान पक्राउ, हत्यारा मृतककै आफन्त

राजविराज– सप्तरीको सप्तकोशी नगरपालिका–१, फत्तेपुरस्थित नेपाल वैंक लिमिटेडका सुरक्षागार्ड पर्शुराम फुयालको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जना सशस्त्र प्रहरी जवानलाई पक्राउ गरेको छ। पक्राउ पर्ने मृतक फुयालकै नातेदार पनि हुन।

सप्तकोशी नगरपालिका–५, गंगाजली घर भएका करिव ३०/३१ वर्षीय चन्द्रबहादुर सुवेदी पक्राउ परेको जनाईएको छ। स्रोतका अनुसार उनी मृतक फुयाँलका कान्छो ज्वाईतर्फका नातेदार हुन। प्रहरीले उनलाई शनिवार साँझ चितवनबाट पक्राउ गरी ल्याएको हो।

बुबा–आमा, श्रीमतीसहित १ वर्षकी छोरी र ५ वर्षका छोरासमेत भएका सुवेदी विगत एक वर्षदेखि ‘छुट्टिमा छु’ भन्दै घरमै बसेका थिए। इलाका प्रहरी कार्यालय कञ्चनपुर स्रोतले हत्यामा संलग्न एक ब्यक्ति पक्राउ गरेको पुष्टि गरेको छ। तर, डीएसपी महेन्द्र नेपालले पक्राउ परेकाका ब्यक्तिको पहिचान भने खुलाएका छैनन्।

सप्तकोशी नगरपालिका–२, सिद्धिपुरका ५६ वर्षीय फुयाँल बिहीबार विहान बैंकमै मृत फेला परेका थिए। उनको खुकुरी प्रहार गरी हत्या गरिएको सप्तरी प्रहरीले जनाएको छ। नेपाली सेनाबाट सेवा निवृत्त भएपछि विगत ८ वर्षदेखि निरन्तर सुरक्षा गार्ड रहेका उनको जिउमा खुकुरी प्रहार गरेको चोट र शवको वरिपरी रगतका टाटा फेला परेको थियो।

सोही बैंकका अर्का सुरक्षा गार्ड कर्ण थापाका अनुसार विहान ७ वजेसम्म पनि गार्डको कोठा नखुलेपछि बैंकका कर्मचारीलाई शंका लागेर ढोका खोलेर हेर्दा उनी मृत अवस्थामा फेला परेका थिए।

इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी महेन्द्र नेपालका अनुसार लुटपाट गर्ने उद्देश्यले उनको हत्या भएको देखिएको छ। बैंकको सीसीटीभी फुटेज हेर्दा राति करिब १२ बजेपछि नकावधारी एक जना ब्यक्ति बैंकभित्र पसेर हत्या गरेको देखिएको थियो। फुयालको लुटेरासँग निकैबेर मुडभेड भएको फुटेजमा देखिएको जनाईएको छ। हत्या गरी बैंकबाट चोरी गर्ने प्रयास भने सफल नभएको बैंकले जनाएको छ।

अनुसन्धानका लागि धनुषाको मिथिला नगरपालिकास्थित प्रहरी चौकी लालगढ परिसरको केनाइन शाखाबाट तालिमप्राप्त कुकुर ल्याईएको थियो। उनको शनिवार दाहसंस्कार गरिएको छ। मृतक फुयालका श्रीमती २ छोरा र २ छोरी छन्। उनी नेपाली सेनाबाट सेवा निवृत्त भएपछि गार्डको रुपमा काम गर्न थालेका थिए।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट